रामोन म्यागासेसे पुरस्कारका लागि कुलमानको नाम प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रामोन म्यागासेसे पुरस्कारका लागि कुलमानको नाम प्रस्ताव



काठमाडौं, २७ फागुन  । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाम रामोन म्यागासेसे पुरस्कारका लागि प्रस्ताव गरिएको छ । राजधानीमा बिहीवार आयोजित एक कार्यक्रममा विद्युत् व्यवस्थापनमा अतुलनीय काम गरेको भन्दै घिसिङलाई उक्त पुरस्कारका लागि प्रस्ताव गरिएको हो ।

विद्युत् भार कटौतीको चरम मार खेपिरहेका बेला नियुक्त भई छोटो अवधिमै देशलाई उक्त समस्याबाट बाहिर निकाल्ने साहसिक काम गरेको भन्दै घिसिङलाई उक्त पुरस्कार प्रदान गर्न प्रस्तावमा आग्रह गरिएको खबर आजको अभियान दैनिकमा छापिएको छ ।

उक्त आग्रहपत्र इनर्जी डेभलपमेण्ट काउन्सिलका अध्यक्ष सुजित आचार्यले फिलिपिन्सकी  समाजसेवी राजकुमारी मारिया आमोर तोरेसलाई बिहीवार काठमाडौंमा हस्तान्तरण गरे । ‘तपाईंको देशले विश्वभरका उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई विभिन्न विधामा हरेक वर्ष रामोन म्यागासेसे पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ,’ पत्र हस्तान्तरणका क्रममा आचार्यले भने, ‘अतुलनीय काम गरेका घिसिङलाई पनि उक्त पुरस्कारबाट सम्मानित गर्न गरिएको यो प्रस्तावपत्र सम्बन्धित ठाउँमा पुर्‍याइदिन अनुरोध गर्दछौं ।’

यति छोटो समयमा विद्युत् व्यवस्थापनको यति प्रभावकारी नमूना संसारमा आजसम्म कसैले प्रस्तुत गरेको आफूले नसुनेको आचार्यले बताए ।

पत्र ग्रहण गर्दै राजकुमारी तोरेसले आफूले सम्बन्धित ठाउँमा पत्र पुर्‍याई पुरस्कारका लागि सुझाव दिने वचन दिइन् । ‘यसभन्दा अघिल्लो पटक नेपाल आउँदा मैले दैनिक १२ घण्टासम्मको विद्युत् कटौतीको समस्या रहेको पाएकी थिएँ,’ राजकुमारी तोरेसले भनिन्, ‘यो पटक त्यस्तो नभएको मैले पनि महसूस गरेकी छु ।’ यो फरक डिजेल जेनेरेटरको अधिकतम प्रयोगले भएको अनुमान गरेकी उनले उपलब्ध विद्युत् व्यवस्थापनले भएको थाहा पाउँदा आश्चर्य प्रकट गरेकी थिइन् ।

प्रकाशित : २७ फाल्गुन २०७३, शुक्रबार ०४:४८