किसानलाई अदुवाले पिरोल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

किसानलाई अदुवाले पिरोल्यो



पर्वत, ७ चैत । मकै र कोदो छाडेर अदुवाखेती लगाएका उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका छन् ।

यहाँका कृषकलाई अदुवा बिक्री गर्न बजार अभाव भएको छ । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङमा उत्पादन भएको अदुवाले बजार पाउन सकेको छैन । खाद्यबाली र तरकारीको विकल्पमा खेतबारीमा अदुवा लगाएका कृषक पुर्पुरोमा हात थमाउन बाध्य छन् । अदुवाले उचित मूल्य र बजार पाउन नसकेको लेकफाँट देउरालीका कृषक कुलप्रसाद सुवेदी बताउछन् ।

बिक्री नभएपछि यहाँका कृषकले उत्पादन गरेको पाँच हजार किलो अदुवा बारीमै कुहिन थालेको छ । “प्रतिकिलो रु ८० मा बीउ किनेर लगाएको अदुवा रु २० मा पनि बिक्री भएन”, सुवेदीले भने – “लगानीसमेत उठ्न नसक्ने अवस्था छ ।”

सो क्षेत्रमा उत्पादित अदुवाको प्रमुख बजार म्याग्दीको बेनी, कुश्मा, पोखरा र भारत हो । नेपालमा अदुवाको प्रयोग न्यून छ भने यसलाई प्रशोधन गरेर अन्य परिकार बनाउने उद्योगको अभाव छ । दुई वर्ष अगाडीसम्म अदुवा प्रतिकिलो रु ६० देखि रु ८० मा बिक्री भएको स्थानीय कृषक राधिका सुवेदी बताउछन् । यातायातको सुविधा नहुँदा यहाँका कृषक पिठ्यूमा बोकेर म्याग्दीको बेनीसम्म अदुवा, दूध, तरकारीलगायत कृषि उपज बिक्री गर्दैआएका छन् ।

प्रकाशित : ७ चैत्र २०७३, सोमबार ०७:३८