पूर्वलडाकूको हतियार धितो राखेर ऋण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पूर्वलडाकूको हतियार धितो राखेर ऋण



काठमाडौं । माओवादीका पूर्वलडाकु विनोद कट्टेलले ऋण लिएको एक लाख रुपैयाँ बुझाउन नसकेपछि द्वन्द्वकालमा प्रयोग गरेको हतियार बन्धकी राखेको रहस्य पत्ता लागेको छ।

अन्नपूर्ण पोष्टमा सुवास गोतामे लेख्छन्–गत जेठ २७ गते सशस्त्र प्रहरीद्वारा हतियारसहित पक्राउ परेका गोंगबुका दुर्गासिंह गुरुङमाथि प्रहरीले अनुसन्धान गर्दा यस्तो तथ्य खुलेको हो। स्रोतका अनुसार हतियार बरामद भएको समयमा सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई हतियार र अभियुक्त बुझ्न आग्रह गरेको थियो।

यसको जानकारी उपत्यका प्रहरी प्रमुख एआईजी विज्ञानराज शर्मासम्म पुग्यो।  शर्माले कानुनी प्रक्रिया पूरा गरेर हतियार बुझ्नु भनेपछि महानगरीय प्रहरी वृत्त महाराजगन्जका इन्चार्ज डीएसपी सानुराम भट्टराईको टोली पुगेर मुचुल्का गरी हतियार बुझेको थियो।

गुरुङलाई हिरासतमा राखेर थप अनुसन्धान गर्दा कट्टेलले जेठ २७ गते फोन गरेर ‘हतियार ल्याइदेऊ, पैसा लैजाऊ’ भनेर गोंगबुको एक चियापसलमा बोलाएको रहस्य खुलेको थियो।

गुरुङको दाबी फोन डिटेल्समा भिडाउँदा मिलेको प्रहरीले जानकारी दियो।  आफूले दिएको ऋणको रकम फिर्ता पाउने आसमा पाइन्टको खल्तीमा सामान्य हिसाबले हतियार राखेर जाँदै गरेका गुरुङलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो।

हिरासतमा रहेका गुरुङले आफूबाट लिएको ऋण तिर्न नपर्ने र अवैध हतियार पनि ठेगान लगाउने मनसायले कट्टेलले सशस्त्र प्रहरीलाई प्रयोग गरेर आफूलाई पक्राउ गर्न लगाएको भन्दै निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरेका छन्।

गुरुङको यही बयान, स्थानीय बासिन्दा र आफन्तको भनाइ उद्धृत गरेर प्रहरीले यो घटनामा कट्टेलले सुराकी दिएको हुनसक्ने निष्कर्षमा पुगेको हो।  स्वचालित हतियारसहित पक्राउ परेका गुरुङलाई वृत्तमा ल्याएर अनुसन्धान गर्दा उनले उक्त हतियार आफ्नो नभएको र पूर्वलडाकु कट्टेलको रहेको बयान दिएका छन्।

प्रहरीले कट्टेललाई पक्राउ गरेको छ। कट्टेलले गुरुङबाट बरामद हतियार आफ्नो नभएको दाबी गरेपछि उनीमाथि प्रहरीले मंगलबार पोलिग्राफ टेस्ट गरेको छ। ‘यसको रिपोर्ट बुधबार आउँछ’, स्रोतले भन्यो।

कट्टेल बेलाबेला लडाकुको पोसाकसमेत लगाएर आफ्नो घरमा आउने गरेको बयान गुरुङले दिएका छन्। घटनाबारे महानगरीय प्रहरी प्रमुख एआईजी शर्माले भने, ‘हामीलाई सशस्त्र प्रहरीले हतियारसहित गुरुङलाई बुझाएको हो, सुरुमा उनीरूले मुचुल्का गरेर हतियार बुझ भनेका रहेछन्।

मैले कानुनअनुसार पुन: मुचुल्का गरेर हतियार बुझ्न निर्देशन दिएको थिएँ, थप अनुसन्धान हुँदैछ।’ सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी पुष्पराम केसीले अनुसन्धानकै सिलसिलामा हतियार बोकेका व्यक्ति भेटेपछि पक्राउ गरी प्रहरीलाई बुझाएको पुष्टि गरे।

उनले भने, ‘कर्तव्य पूरा गर्दा यसलाई नाटकीय रूपमा नबुझे हुन्छ।  हामीले हतियारसहित मानिस समातेपछि प्रक्रिया पूरा गरेर प्रहरीलाई बुझाइदिएका हौं। पहिला किन बुझ्न मान्नुभएन त्यो उहाँहरूको आन्तरिक पाटो हो।’

– See more at: http://www.hamrakura.com/197507.html#sthash.njQo08XM.dpuf

प्रकाशित : ९ असार २०७२, बुधबार ०२:०७