उद्धारका क्रममा १७ करोड रुपैयाँ बढी इन्धन खर्च भयो : सेना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उद्धारका क्रममा १७ करोड रुपैयाँ बढी इन्धन खर्च भयो : सेना



काठमाडौं ।  नेपाली सेनाले भूकम्प पीडितको उद्धार तथा राहतमा आफ्ना हेलिकप्टर प्रयोग हुँदा १७ करोड रुपैयाँभन्दा बढी इन्धनमा खर्च भएको दाबी गरेको छ। उद्धार तथा राहत वितरणमा वैशाख १२ गते नै हवाई इन्धनका लागि १० करोड रुपैयाँ बुझेको सेनाले जेठ ३२ गतेसम्म १ हजार ८ सय ६ उडान भरेको जनाउँदै थप ७ करोड रुपैयाँ गृह मन्त्रालयअन्तर्गतको केन्द्रीय दैविक प्रकोप उद्धार समितिसँग मागेको हो।

नागरिक दैनिकमा सुरेन्द्र पौडेल लेख्छन्–त्यति मात्र होइन, सरकारले आफ्ना हेलिकप्टर तथा सवारीसाधन चुस्त राख्न भन्दै अर्थ मन्त्रालयसँग यो आर्थिक वर्षको बजेटभन्दा बाहिरबाट थप २ अर्ब रुपैयाँ समेत मागेको छ। ‘भूकम्प गएकै दिन सेनालाई हवाई इन्धनका लागि १० करोड रुपैयाँ दिइएको हो। भूकम्प पीडितको उद्धार तथा राहतमा अहिले सेनाले थप ७ करोड रुपैयाँ मागेको छ,’ गृह मन्त्रालय प्रवक्ता लक्ष्मीप्रसाद ढकालले  भने।

गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर वैशाख १२ गते ७.६ म्याग्निच्युड स्केलको भूकम्प गएपछि सोही दिन सेनालाई १० करोड रुपैयाँ दिइएको थियो। आर्थिक वर्ष २०७१/७२ मा छुट्याएको बजेटबाट खर्च गर्दा समेत अपुग भएको भन्दै सेनाले अहिले विपद व्यस्थापन हेर्ने जिम्मेवारी पाएको गृहसँग थप ७ करोड रुपैयाँ मागेको हो।

‘वैशाख १२ गतेदेखि जेठ ३२ गतेसम्म उद्धार तथा राहत वितरणमा सेनाको एक दर्जन हेलिकप्टरले १ हजार ८ सय ६ उडान भरेका छन्,’ सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले भने, ‘यो अवधिमा सेनाको हेलिकप्टरले २ लाख २६ हजार ३ सय ७७ केजी राहत सामग्री वितरण गरेको छ भने २ हजार ९ सय ६ जना घाइतेको उद्धार।’
भूकम्प गएपछि सेनाको १२ वटा, भारतका १३ वटा, अमेरिकाको ७ वटा, चीनका तीनवटा र केही निजी क्षेत्रका हेलिकप्टर उद्धार र राहतमा उडेका थिए। भूकम्प पीडितको उद्धार तथा राहत वितरणमा उडेका २३ वटा हेलिकप्टरमा चीनका तीनवटा एमआई १७, भारतका ८ वटा एमआई १७ र ५ वटा एएलएच, अमेरिकाको ४ वटा अस्प्रे र ३ वटा युएच १ थिए।

गृह मन्त्रालयका अनुसार वैशाख १२ गते भूकम्प गएपछि उद्धार र राहतमा सेनाको हेलिकप्टरले १ हजार ८ सय ६, भारतीय हेलिकप्टरले १ हजार १ सय ७७, अमेरिकी हेलिकप्टरले २ सय ८७, चिनियाँ हेलिकप्टरले ७४ र निजी हेलिकप्टरले ७ सय ४५ उडान भरेका थिए। यसबाहेक पोखराबाट विभिन्न हेलिकप्टरले ४ सय ५८ उडान भरेका थिए। सबै हेलिकप्टरले कुल ४ हजार ५ सय ४२ उडान भरेका थिए।

काठमाडौं र पोखरालाई आधार बनाएर उद्धार तथा राहतमा खटिएका सबै हेलिकप्टरले कुल १२ हजार २ सय ९५ जनाको उद्धार र ११ लाख १६ हजार ५ सय ५३ राहत सामग्री वितरण गरेका थिए। विपदका बेला उद्धार र राहतमा आउने विदेशी हेलिकप्टरले लाग्ने इन्धनलगायत सम्पूर्ण खर्च आफैं बेहोर्ने अन्तर्राष्ट्रिय प्रचलन छ। निजी हेलिकप्टरले भने प्रतिघन्टा दरले भाडा लिने गर्छन्। नेपालमा उडान भर्ने प्राय हेलिकप्टरले नेपालीलाई प्रतिघन्टा औसत १ हजार २ सय अमेरिकी डलर (करिब १ लाख २० हजार रुपैयाँ) भाडा लिने गर्छन्। सोही बमोजिम उद्धार र राहत कार्यका लागि उडान भन्ने विदेशी हेलिकप्टरले सम्पूर्ण खर्च आफैं बेहोरेका भए पनि निजी हेलिकप्टरले प्रतिघन्टाका दरले भाडा लिएका छन्।

गृह मन्त्रालय उच्चस्रोतका अनुसार सेनालाई भने हेलिकप्टर उडाएबापत इन्धन खर्च मात्र उपलब्ध गराउने निर्णय भएको थियो, सोही अनुसार सेनालाई वैशाख १२ गते नै १० करोड रुपैयाँ रकम उपलब्ध गरिएको थियो। सेनाले हेलिकप्टर इन्धन खर्च भन्दै थप ७ करोड रुपैयाँ माग गरेपछि भने गृहका अधिकारी आश्चर्यमा परेका छन्। काठमाडौंमा उडान भर्ने निजी हेलिकप्टरले नेपालीलाई औसत प्रतिघन्टा १ हजार २ सय (करिब १ लाख २० हजार रुपैयाँ) भाडा लिने गर्छन्। स्रोतका अनुसार उद्धार तथा राहत वितरणको लामो उडान ४५ मिनेटसम्मको हुने गर्थे।

यसैलाई आधार मान्ने हो भने पनि सेनाले जेठ ३२ गतेसम्म भरेको १ हजार ८ सय ६ उडान भर्दा १ हजार ३ सय ५४ दशमलव ५ घण्टा उडान भरेको देखिन्छ। प्रतिघन्टा १ हजार २ सय अमेरिकी डलरका दरले त्यति समय उडान भर्दा १६ लाख २५ हजार ४ सय अमेरिकी डलर (करिब १६ करोड ५७ लाख ९० हजार ८ सय रुपैयाँ) हुन आउँछ। ‘यो इन्धनलगायत सम्पूर्ण खर्च जोडेर उडान भर्दा निस्कने भाडा हो तर सेनालाई भने इन्धन खर्च मात्र दिने भनिएको थियो। इन्धनको मात्र खर्च निकाल्ने हो भने यसको आधा पनि निस्कँदैन,’ गृहस्रोतले भन्यो।

अहिले बजारमा हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ रहेको छ। सेनाले १ हजार ८ सय ६ हेलिकप्टर उडान भरेको इन्धन खर्च १७ करोड रुपैयाँ दाबी गर्दै मागेको छ। यसैलाई आधार मान्दा प्रतिउडान ९४ हजार १ सय ३० रुपैयाँ हेलिकप्टरको इन्धन खर्च मात्र देखिन्छ। प्रतिउडान सेनाले ७ सय ७ लिटर हवाई इन्धन खर्च गरेको देखाएको छ। अर्थात् सेनाले उद्धार तथा राहत वितरण गर्दा १२ लाख ७६ हजार ८ सय ४२ लिटर हवाई इन्धन खर्च गरेको छ। यो तथ्यांकले सेनाको हेलिकप्टरले प्रतिघन्टा ९७ दशमलव ९१ लिटर हवाई इन्धन खर्च गरेका छन्।

यस हिसाबले सेनाको हेलिकप्टरको प्रतिउडान करिब साढे ७ घन्टा लामो हुने गरेको देखिन्छ, जब कि सबैभन्दा लामो उडान भनेको ४५ मिनेट मात्रको थिए। ‘सेनाको हेलिकप्टरले गरेको उडान, मागेको इन्धन खर्च सबैको हिसाबकिताब गर्दा अमिल्दो देखिन्छ। त्यसैले सेनालाई हेलिकप्टरको इन्धन खर्च कति दिने भन्ने विषयमा निर्णय हुन सकेको छैन,’ गृहस्रोतले भन्यो।

प्रकाशित : ९ असार २०७२, बुधबार ०२:११