बुृटवल पावरले सुरु गर्यो ६७ मेगावाटका दुई आयोजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बुृटवल पावरले सुरु गर्यो ६७ मेगावाटका दुई आयोजना



काठमाडौ १४ चैत। बुटवल पावर कम्पनीले तीन वर्षमा ६७ दशमलव ६ मेगावाटका दुई जलविद्युत आयोजना निर्माणको काम सुरु गरेको छ । बीपीसीले आफ्नो स्वर्ण महोत्सवको अवसरमा ३७ दशमलव छ मेगावाट क्षमताको काबेली ए तथा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको निर्माण सुरु गरेको हो । जलविद्युत आयोजनाको उद्घाटन गर्दै उर्जा मन्त्री जनार्दन शर्माले उर्जा क्षेत्रमा निजी क्षेत्रले गरेको योगदानको उलेख्य रहेको र आगामी दिनमा पनि तिब्र गतिमा जलविद्युत आयोजना निर्माणको जरुरी रहेको बताए ।  बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योतीले शिलन्यास भएका दुई नयाँ आयोजनाले सन् २०२० सम्ममा ६७ दशमलव छ ६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बताए ।

काबेली ए को निर्माणमा बीपीसीले ५५ प्रतिशत लगानी गर्नेछ भने सिंगापुरको इन्फ्राको एसियाको ४५ प्रतिशत लगानी रहने छ । जलविद्युत आयोजना पाँचथर र ताप्लेजुंगको सीमामा रहेको काबेली नदीमा निर्माण गरिने छ । आयोजना निर्माणका लागि कुल १० अर्ब रुपैंया लगानी हुने बताइएको छ । उता लमजुङ विद्युत विकास कम्पनीसँगको सहकार्यमा नै बीपीसीले ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना निर्माण सुरु गरेको हो । यो आयोजना पनि सन् २०२० सम्ममा निर्माण पुरा गर्ने लक्ष्य लिइएको छ । २०२२ साल पौष १४ गते निजी कम्पनीका रुपमा स्थापना भएको बीपीसी २०४९ सालमा पब्लिक कम्पनीमा परिणत गरिएको थियो । त्यस पछि फेरी २०५९ सालमा निजीकरण गरी निजी, सरकारी, कर्मचारी तथा सर्वसाधरणहरुलाई सहभागी गराई अघि बढाइएको कम्पनीले १२ मेगावाटको झिमरुक विद्युत केन्द्र तथा ९।४ मेगावाटको आँधिखोला विद्युत केन्द्र संचालन गरिरहेको छ ।

आफ्नै वितरण प्रणाली मार्फत स्याङजा, पाल्पा, प्युठान र अर्घाखाँची जिल्लामा ५० हजार बढी ग्रामिण घरधुरीहरुलाई विद्युत सेवा समेत प्रदान गर्दै आएको छ । कम्पनीले विभिन्न १० वटा सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत व्यवसायहरु संचालन गर्दै आएको छ ।

कम्पनीले आगामी दिनमा मनाङ जिल्लामा एक सय मेगावाटको लोअर मनाङ मस्र्याङदी जलविद्युत आयोजना र आठ दशमलव पाँच मेगावाटको चिनो खोला जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । नयाँ जलविद्युत आयोजनाहरुको पहिचान गरी विकास गर्ने तथा स्टोरेज जलविद्युत आयोजनाहरुमा समेत लगानी गर्ने योजना बीपीसीले बनाएकोछ ।

प्रकाशित : १४ चैत्र २०७३, सोमबार ०५:३५