सडक र रेलमा चिनियाँ राष्ट्रपति सीको चासो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सडक र रेलमा चिनियाँ राष्ट्रपति सीको चासो



काठमाडौं, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति सीले स्थानीय तहको निर्वाचनमार्फत नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धि आउने बताएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

भेटवार्ता लगत्तै चिनियाँ टेलिभिजन सिजिटिएनलाई अन्तर्वार्ता दिएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीले नेपालसँग रेल र सडक सम्पर्क विस्तारमा व्यक्तिगत तहबाट पनि चासो लिएको बताएका छन् । पत्रकार हान पेङलाई दिएको अन्तर्वार्तामा प्रचण्डले भने, ‘राष्ट्रपतिसँग मेरो मुख्य रूपमा कनेक्टिभिटीका विषयमा कुराकानी भयो । रेल, सडक, हिमालयपार सम्पर्क विस्तार, हवाई सम्पर्क विस्तारमा छलफल भयो । राष्ट्रपतिले रेल र सडक विस्तारमा उत्साहजनक रेस्पोन्स गरेका छन् ।’

प्रचण्डले टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति सीले व्यक्तिगत रूपमा पनि नेपालसँग रोड र रेल सम्पर्क विस्तारमा रुचि राखेको बताएका छन् । प्रचण्डका अनुसार राष्ट्रपति सीले भने, ‘व्यक्तिगत रूपमा नै मैले नेपालसँग रेल र रोड विस्तारमा रुचि राखेको छु । सीमापार विशेष आर्थिक क्षेत्र र सीमापार विद्युत् प्रसारण लाइनमार्फत पनि दुई देशबीच आर्थिक साझेदारी वृद्धि हुन्छ भन्ने मलाई लाग्छ ।’

राष्ट्रपति सीको अवधारणाले नेपालको विकासमा क्रान्तिकारी प्रभाव पर्ने प्रधानमन्त्री प्रचण्डले बताए । ‘मेरो पनि विश्वास र विश्लेषण यही हो कि यो अवधारणाले नेपालको अर्थतन्त्रको विकास र चीन–नेपाल सम्बन्ध थप सुदृढ गर्न क्रान्तिकारी प्रभाव पार्नेछ,’ प्रचण्डले भने । राष्ट्रपति सीको वान बेल्ट वान रोड प्रस्तावमा आफूले नेपालका तर्फबाट औपचारिक स्वागत गरेको पनि प्रचण्डको भनाइ थियो ।

प्रचण्डले केरुङसम्म आउने रेल काठमाडौं हुँदै लुम्बिनीसम्म जोड्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए । अघिल्लो सरकारका पालामा भएका सबै सम्झौता कार्यान्वयनमा नेपालको प्रतिबद्धता दोहो¥याउँदै प्रचण्डले पारवहन तथा यातायात सम्झौताको प्रोटोकल, ओबिओआरमा नेपालको प्रवेशलगायतका विषयमा नेपाल चीनसँग हस्ताक्षर गर्न तयार रहेको बताएका थिए । ग्रेट हल अफ द पिपुलमा सोमबार अपराह्न भएको प्रचण्ड र सीको भेटमा चीनले नेपालको स्थानीय निर्वाचनका लागि ९० लाख युयान ९१३ करोड ५० लाख नेपाली रुपैयाँ० दिने घोषणा समेत गरेको छ ।

प्रकाशित : १५ चैत्र २०७३, मंगलवार ०४:४३