दाता सम्मेलनका लागि राजधानीमा उच्‍च सुरक्षा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दाता सम्मेलनका लागि राजधानीमा उच्‍च सुरक्षा



काठमाडौं। दाता सम्मेलनमा सात देशका मन्त्रीसहित विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संघसंस्थाका झन्डै दुई सय ५० प्रतिनिधि सहभागी हुने भएपछि राजधानीका सुरक्षा निकायलाई उच्च सतर्कतामा (हाइअलर्ट) मा’मा राखिएको छ।

विशेषगरी आगमनकक्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भीआईपी सवारी रुट र कार्यक्रम स्थलसम्म सुरक्षाकर्मीलाई विशेष रूपमा परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले बताए।

फोटो :फाइल तस्बिर,अन्‍नपूर्ण

उनले भने, ‘सम्मेलनमा भाग लिन आएका पाहुनाहरूको सुरक्षाका लागि पनि छुट्टै सुरक्षा योजना तयार गरेर सुरक्षाकर्मी परिचालित गरिएको छ।’

गृह मन्त्रालय र सम्मेलन स्थल सोल्टी होटेलमा कमान्ड पोस्ट राखेर सुरक्षाकर्मी परिचालन गरिएको जानकारी पनि ढकालले दिए।

सम्मेलनको उद्घाटन बिहीबार बिहान १० बजे प्रधानमन्त्री सुशील कोइरालाले गर्ने कार्यक्रम छ।

सम्मेलनका लागि आएका विदेशी भीआईपीहरूलाई होटेल सोल्टी, याक यान्ड यती र द्वारिका होटेलमा बस्ने व्यवस्था मिलाइएको छ।

निवास क्षेत्रको सुरक्षा प्रहरी प्रधान कार्यालयका विशेष प्रहरीले हेरेका छन्।

प्रहरी प्रधान कार्यालयले बुधबार, बिहीबार र शुक्रबार तीन दिनसम्मको सुरक्षा योजना तयार गरेको छ।

सुरक्षा योजनामा नेपाल प्रहरीका तर्फबाट मात्रै ६ हजार सुरक्षाकर्मी परिचालित भएको जानकारी प्रहरी प्रवक्ता डीआईजी कमलसिंह बमले दिए।

सम्मेलनमा भाग लिन आएका विदेशी प्रतिनिधिको सुरक्षाका लागि बुधबार विमानस्थलदेखि सोल्टी होटेलसम्मको रुटमा सडकदेखि घरका छतसम्म सुरक्षाकर्मी परिचालन गरिएका थिए।

दाता सम्मेलनमा सहभागी हुन आएका भीआईपीहरूलाई बुधबार साँखु र वसन्तपुर क्षेत्रमा अवलोकन गराउन प्रहरीले स्कटिङ गर्दै लगेको थियो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले दुई घेरामा सुरक्षा प्रबन्ध मिलाइएको बताए।

गत सार्क सम्मेलनका बेला भीआईपी बस्ने होटेलको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको थियो।

दाता सम्मेलनमा भने नेपाल प्रहरीले यस्ता होटेल र सम्मेलनस्थलको भित्री क्षेत्रको सुरक्षा जिम्मेवारी पाएको छ।

‘निवास र सम्मेलन स्थलको भित्री कोर एरिया नेपाल प्रहरीले हेर्छ भने बाहिरी एरियाको सुरक्षा निगरानी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीले गर्नेछन्’, खड्काले भने।

भीआईपीको स्कटिङ, भीआईपीलाई पीएसओ, सम्मेलन स्थलमा स्क्रिनिङ, सीसीटीभी क्यामेरा मनिटरिङ र कार्यक्रम हुनुपूर्व डग स्निफिङको काम पनि प्रहरीले गर्नेछ।आजको अन्‍नपूर्ण बाट

प्रकाशित : १० असार २०७२, बिहीबार ०२:४३