पहिरोपिडित मोकोआलाई आर्थिक सङ्कटग्रस्त क्षेत्र घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पहिरोपिडित मोकोआलाई आर्थिक सङ्कटग्रस्त क्षेत्र घोषणा



मोकोआ २३ चैत । बाढीपहिरोका कारण २७० भन्दा बढीको मृत्यु भएको कोलम्बियाको दक्षिणी क्षेत्रमा पर्ने मोकोआलाई कोलम्बिया सरकारले आर्थिक सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

शुक्रबार पहिरो गएको क्षेत्रमा फेरी स्थलगत निरीक्षणपछि राष्ट्रपति जोन म्यानुअल सान्तोषले सोमबार सो क्षेत्रलाई आर्थिक सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका छन ।

उहाँले स्वास्थ्य र खानेपानी तथा सरसफाइका लागि यसअघि नै सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेका छन ।

“यस दुःखद् घटनामा परी अहिलेसम्म २७३ जनाको मृत्यु भएको छ, अरु २६२ जना घाइते हुनुभएको छ,” उहाँले भने , “मृत्यु भएकामध्ये ४३ जना बालबालिका रहेका छन् ।” राष्ट्रपति सान्तोषले सोमबारराती उद्धारकर्तासँगै विताउनुभएको छ र मङ्गलबार बिहानैदेखि फेरी उद्धारकार्यको निरन्तर संयोजन गरिरहेका छन ।

उनले पुनःनिर्माण तत्काल सुरु हुने बताउनुभएको छ । आगामी जुन महिनासम्म वर्षा भइरहन सक्ने मौसम भएकाले फेरी यस्तै क्षति हुन सक्नेतर्फ उहाँले सचेत रहन आह्वान गरेका छन् ।

सङ्कटग्रस्त क्षेत्रमा राष्ट्रपति सान्तोषले उद्धार तथा राहतका लागि निरन्तर चासो दिएका छन् ।

भीषण वर्षापछि गत शुक्रबार मोकोआका तीन ओटा नदिमा ठुलो बाढी आएको थियो भने बाढीले ठुलो मात्रामा ढुङ्गा, माटो र रुख बगाउनुका साथै विशाल पहिरो गएको थियो ।

बाढीपहिरोबाट पीडित व्यक्तिहरु झण्डै पाँच दशक लामो गृहयुद्ध र गरिविबाट पनि पीडित थिए ।

सरकारी तथ्याङ्कअनुसार मोकोआमा झन्डै ७० हजार जनसङ्ख्या रहेको थियो । तीमध्ये झन्डै ४५ हजार जना अहिलेको बाढी पहिरोबाट पीडित भएको रेडक्रसले जनाएको छ ।

बाढीग्रस्त क्षेत्रमा विद्युत वितरणका संरचना फेरी बनाएर विद्युत सुचारु गर्न अझै केही दिन लाग्ने स्थानीय अधिकारीले बताएका छन् । तत्कालका लागि भने त्यहाँ बोतलको पानीको व्यवस्था गरिदैछ ।

स्वास्थ्यकर्मीले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको प्रकोप फैलिन सक्ने भएकाले पूर्वसतर्कता अप्नाउन आह्वान गरेका छन् ।एजेन्सी

प्रकाशित : २३ चैत्र २०७३, बुधबार ०८:५०