मेगाको ‘नानीमा लागेको बानी’ अभियान, ज्ञान बाढ्न पारस र प्रियंका पुगे विद्यालय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगाको ‘नानीमा लागेको बानी’ अभियान, ज्ञान बाढ्न पारस र प्रियंका पुगे विद्यालय



काठमाडौं २७ चैत । मेगा बैंक नेपाल लिमिटेडले ‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा शनिबार काठमाडौंको डिल्लीबजारस्थित साब पब्लिक स्कूलमा आयोजित कार्यक्रममा मेगा बैंकको सद्भावना दूत क्रिकेटर पारस खड्का र अभिनेत्री प्रियंका कार्कीले सानै उमेरदेखि बचत गर्ने बानीको विकास गर्न बालबालिका तथा अभिभावकहरुलाई अनुरोध गरे ।

सो अवसरमा कप्तान खड्काले सानै उमेरदेखि बैंकमा बचत खाता खोल्ने हो भने बालबालिकाहरुमा बचाउनुपर्छ भन्ने बानीको विकास हुने बताए । साथै आफ्ना सन्तानहरुलाई स्वतस्फूर्त रुपमा बचत गर्ने बानीको विकास गराउन आग्रह समेत गरे । ‘बालबालिकाहरुको पहिलो प्राथमिकता पढाइ नै हो, तर उनीहरुलाई सानैदेखि अन्य कुराहरु पनि सिकाउनुपर्छ’ उनले भने ।

यसैगरी, नायिका कार्कीले नानीदेखि लागेको बानीले नै हरेक मानिसको जीवनमा मुख्य प्रभाव पर्ने भएकोले यो अभियानले युवाहरुमा विद्यार्थी जीवनबाट नै बचत गर्ने संस्कृतिको विकास हुने विश्वास लिएको बताइन् । ‘सानो हुँदा मसँग भएको सबै रकम खाने र खेल्ने कुराहरु किनेर सिध्याइहाल्थें, तर अहिले महसुस हुँदैछ त्यो ठीक होइन रहेछ ’ नायिका कार्कीले भनिन् ‘थोरै रकम भए पनि सानैदेखि बचत गर्ने बानी बसाऔं, रकम खेर नफालौं ।’

कार्यक्रममा मेगा बैंकका अध्यक्ष तथा सूर्योदय शिक्षा फाउन्डेशनका अध्यक्ष भोजबहादुर शाहले बालबालिका र युवाहरुमा बचत गर्ने बानीको बिउ रोप्न मेगा सद्भावना दूत पारस खड्का र प्रियंका कार्कीले उत्कृष्ट भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले युवाहरुलाई बैंकिङ शिक्षाको माध्यमबाट बचत गर्ने बानीको विकास गराउन क्रिक्रेटर खड्का र सिनेस्टार कार्की देशभरका विद्यार्थीमाझ पुग्ने बताइन् । यो अभियानको मुख्य उद्देश्य देशभरका स्कूल र कलेजका विद्यार्थीमाझ पुगेर बैंकिङ बानीको प्रोत्साहन गर्दै ‘मेगा सम्बन्ध’ स्थापना गर्ने र मेगा बैंकमा खाता खोली बचत गर्ने बानीको थालनी गर्ने रहेको छ । ‘बचत गर्ने संस्कृतिले मेगा बैंकलाई मात्र नभई सिंगो समाज र देशलाई नै फाइदा पु¥याउने हाम्रो विश्वास छ’ उनले भनिन् ।

प्रकाशित : २७ चैत्र २०७३, आईतवार ०९:१४