दाता सम्मेलन : कसको कति अनुदान र सहयोग प्रतिबद्धता ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दाता सम्मेलन : कसको कति अनुदान र सहयोग प्रतिबद्धता ?



काठमाडौँ । भूकम्पपछिको पुन: निर्माणका लागि विभिन्न मुलुकले अनुदान र सहयोगको घोषणा गरेका छन्। राजधानीको सोल्टी होटलमा जारी नेपालको पुन: निर्माणका लागि अन्तराष्ट्रिय सम्मेलनका दौरान विभिन्न दातृ मुलुकहरुले अनुदान र सहयोगको घोषणा गरेका हुन्।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको पुन: निर्माणका लागि आउँदो दुई बर्षका लागि १ खर्ब नेपाली रुपैँया सहयोगको घोषणा गरेकी हुन्।

रकमको चालिस प्रतिसत अनुदान र बाँकी सहुलियतपूर्सण ऋण हुनेछ। नेपाल र भारतबीच ‘रोटी–बेटी’ को सम्बन्ध रहेको भन्दै महाविपत्तिमा परेको उल्लेख गर्दै स्वराजले सहयोगको घोषणा गरेकी हुन्। यो रकम यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा  प्रतिवद्धता जनाएको एक खर्ब सहुलियतपूर्ण ऋण बाहेकको हो।

यस्तै सम्मेलनबाट चीनले ६५ अर्ब नेपाली रुपैँया सहयोगको घोषणा गरेको छ। सहयोग रकम आउँदो दुई बर्ष भित्र प्रदान गर्ने चिनियाँ विदेश मन्त्री वाङ यी ले बताए।

यस्तै जापानले पनि नेपालको पुन: निर्माणका लागि २६ अर्ब नेपाली रुपैँया सहयोगको घोषणा गरेको छ। जापानले पुन: निर्माणका लागि दोश्रो सम्मेलन आफ्नो मुलुकमा गर्न प्रस्ताव समेत गरेको छ। जापानी विदेश राज्यमन्त्री मिनोरु कियुचीले नेपालका भत्किएका सम्पदाको पुन: निर्माणमा सहयोग रकम खर्च गर्न प्रस्ताव गरेका छन्।

दाता सम्मेलनमा संयुक्त राज्य अमेरिकाले १३ अर्ब नेपाली रुपैयाँ सहयोगको घोषणा गरेको छ।

एशियाली विकास बैंकले ६० अर्ब नेपाली रुपैयाँ ऋण सहयोग गर्ने घोषणा गरेको छ।

युरोपियन युनियनले ११ अर्ब नेपाली रुपैयाँ सहयोगको घोषणा गरेको छ।

प्रकाशित : १० असार २०७२, बिहीबार ०५:३२