कोरियन भाषा परीक्षाको पाठ्यक्रम परिमार्जन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कोरियन भाषा परीक्षाको पाठ्यक्रम परिमार्जन हुने



काठमाडौं । इपिएस कोरियन भाषा परीक्षाको पाठ्यक्रम परिमार्जन हुने भएको छ । पाठ्यक्रम परिवर्तन भएपनि प्रश्नपत्रको मोडल भने पुरानै हुनेछ । कार्यस्थलमा चाहिने उत्कृष्ट क्षमता भएका आवेदकहरुलाई छनौट गर्न पाठ्यसामग्री परिमार्जन गरिएको एचआरडी कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ ।

आउँदो असोज २ र ३ गते हुने छैंटौं कोरियन भाषा परीक्षामा सामेल हुनेहरुलाई भने इपिएसस्तरीय पाठ्यसामग्री (हान्गुक अ फ्योजुन ग्योजे) र परिमार्जन गरिएको नयाँ पाठ्यपुस्तक दुवैबाट प्रश्न सोधिने सेन्टरका निर्देशक ली दो सिर्कले जानकारी दिनुभयो । अर्को वर्षदेखि भने परिमार्जन भएको पाठ्यक्रमबाट मात्रै प्रश्न सोधिने उहाँले बताउनुभयो । परिमार्जन भएको पाठ्यसामग्री एचआरडी कोरियाको वेवसाइट www.hrdkorea.or.kr, इपिएस टपिकको वेवसाइट epstopik.hrdkorea.or.kr र इपिएसको वेवसाइट eps.go.kr बाट डाउनलोड गर्न सकिन्छ ।

छैंटौं कोरियन भाषा परीक्षा आउँदो असोज २ र ३ गते काठमाण्डौं र पोखरामा हुँदैछ । परीक्षाका लागि ५१ हजार ४ सय ९९ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।
६ महिनामा साढे तीनहजार भन्दा बढीले कोरियामा रोजगारी पाए

सन् २०१५ को शुरुदेखि अहिलेसम्म ३ हजार ६ सय ८४ जना नेपाली कामदार कोरिया पुगेका छन् । इपिएस मार्फत कोरियामा रोजगारी गर्न पठाउने १५ वटा देशमध्येको यो दोश्रो ठूलो संख्या हो । नेपालभन्दा कम्बोडियाका धेरै कामदारले यो अवधिमा कोरियामा रोजगारी पाएका छन् । तेश्रोमा इण्डोनेसिया छ ।

इपिएस प्रणालीमार्फत ३० हजारभन्दा धेरै नेपाली कामदार कोरिया पुगिसकेका छन् । नेपाली कामदार इमान्दार, परिश्रमी भएको र सरकारले कोरियामा गैरकानूनी कामदार घटाउन गरेको प्रयासले नेपाली कामदारको कोटा बढेको इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलालले जानकारी दिनुभयो । गएको वैशाख १२ गते गएको विनाशकारी भुँइचालोपछि भने १ हजार ५ सय ६७ जना कोरिया गएका छन् ।

प्रकाशित : ११ असार २०७२, शुक्रबार ०२:५०