नसुध्रने भो नेपाल वायुसेवा निगम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नसुध्रने भो नेपाल वायुसेवा निगम



काठमाडौं ।नेपाली इन्जिनियरहरुबीच समन्वय नहुँदा गएराति हङकङ एयरपोर्टमै रोकिएको नेपाल वायुसेवा निगमको जहाज आइतबार दिउँसो मात्र काठमाडौं अवतरण गरेको छ । मर्मतपछि हङकङ्बाट उडेको जहाज २ बजे काठमाडौं अवतरण गरेको हो ।

गएराति नै नेपाल आउनुपर्ने जहाजमा सामान्य प्राविधिक समस्या देखिएपछि हङकङ् रोकिएको थियो । हङ्कङ्मा रोकिनुपर्दा नेपाल आउन लागेको जहाजका यात्रुहरु मर्कामा परेका थिए । चालक दलका सदस्य र यात्रुको खर्चसमेत निगमले व्यहोर्नुपर्दा लाखौं रुपैयाँ घाटा ब्यहोर्नु पर्यो ।

बायु सेवा निगमका तीनजना इन्जिनियरमध्ये २ जना विदेशमा रहेको र एकजना सम्पर्कमा नआएकाले अनुमति नपाउँदा मर्मत हुन नसकेको हो । जहाजमा देखिएको समस्या आधा घण्टाभित्रै मर्मत गर्न सकिने त्यहाँका इन्जिनियरहरुले बताएका थिए । तर, मर्मतको अनुमति माग्न नेपाली इन्जिनियरहरुलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको थिएन ।

अन्तराष्ट्रिय नागरिक उड्यन संगठन आइकाओको नियमअनुसार कसनै विमानस्थलमा जहाज बिग्रिएमा सम्बन्धित मुलुकको हवाइ कम्पनीले अनुमति दिएपछि मात्र मर्मत गर्न पाइन्छ । निगम स्रोतका अनुसार निगमका दुई इन्जिनियर विदेश भ्रमणमा छन् भने अर्का एक इन्जिनियरसँग शनिबार सम्पर्कको प्रयास गर्दा हुन सकेको थिएन ।

आइतबार सम्पर्क भएपछि मात्रै हङकङ् एयरपोर्टका इन्जिनियरहरुले जहाज मर्मत गरेका थिए । स्रोतका अनुसार आइतबार बिहानमात्र अनुमति पाएपछि जहाजको मर्मत गरी काठमाडौं प्रस्थान गरेको थियो ।

गतसाल माघ महिनामा नेपाल भित्रिएको नेपाल वायु सेवा निगमको नयाँ एयरबस सगरमाथाले पहिलो व्यवसायिक उडान भर्न थालेको दुई साता नहुदै बिग्रिएर ग्राउण्डेड भएको थियो । नयाँ एयरबससँगै पहिलो व्यवसायिक उडानको लागी भारत सरकारले अनुमति नदिदा एयरबसले भनेको मितिमा उडान भर्न सकेको थिएन । अरु भन्दा सस्तो मै दिल्ली उड्न पाउने भए पछी नेपाली यात्रु उत्साही भएर टिकट काटेका थिए । तर उडान अनुमति नपाएका कारण एयरबस उड्न नसकेपछि निगम प्रति यात्रुको बिश्वास झनै घटेको थियो । तुलनात्मकरुपमा अरु वायुसेवा कम्पनी भन्दा नेपाल बायु सेवा निगमको भाडा सस्तो भएपनि समयमा उडान नहुने समस्याले यात्रुको विश्वास जित्न सकेको छैन । नयाँ एयरबस थपेपछि यो समस्या हराएर जाने विश्वास गरेका यात्रुहरु माझ यस्तो सामान्य समस्यामा पनि रद्द गर्नु परे अझ विश्वास गुम्नेछ ।

प्रकाशित : १३ असार २०७२, आईतवार १४:४८