श्रम ऐन र सामाजिक सुरक्षा ऐन केहि दिनमै पास हुन्छः श्रममन्त्री गुरुङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

श्रम ऐन र सामाजिक सुरक्षा ऐन केहि दिनमै पास हुन्छः श्रममन्त्री गुरुङ



काठमाडौं १८ बैशाख । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले श्रमिकसँग सम्बन्धित श्रम ऐन र सामाजिक सुरक्षा ऐन अबको केहि दिनमै संसदबाट पास हुने बताएका छन् । १२८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिद्धारा आयोजित श्रमिक सभामा उनले श्रम ऐन संशोधन गर्न बनेको उपसमितिले सबै काम पुरा गरेर पास गर्न संसदसमक्ष पठाईसकेको जानकारी दिए । उक्त ऐन संसदबाट पास हुने उनले बताए । त्यसैगरी सामाजिक सुरक्षा ऐनमा केहि संशोधन गरेर उपसमितिले एक दुई दिनमा संसदसमक्ष पठाउने र उक्त ऐन पनि पास हुने बताए ।

आफ्नो मन्त्रालय र मन्त्रीको विषयमा ठट्टा गर्दै उनले मलेसियमा भाषण गरेको कुरा सम्झँदै भने, ʽखोई म त श्रम मन्त्री हो कि हैन थाहा छैन  श्रम हो कि सरम हो  त्यस्तै रोजगार मन्त्री त भन्छन्, तर बेरोजगार मन्त्री पो हो कि ʼ कठिन अवस्थाकाबिच पनि मर्यादित श्रमका विषयमा सरकार गम्भिर रहेको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले ʽलोकतन्त्रको अपनत्व, राज्यका सबै तहमा मजदुरको प्रतिनिधत्वʼ भन्ने मुद्धालाई अगाडि बढाएको बताए । मजदुरको मुद्धाहरुलाई स्थापित गराउन स्थानीय तहको निर्वाचनमा मजदुरको अनिवार्य प्रतिनिधित्व गराउन र स्वदेशमै रोजगारी सिर्जना गराउने विषयमा नेपाल ट्रेड युनियन काँग्रेसले पहल गरिरहेको उनले बताए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँगे्रसका कोषाध्यक्ष योगेन्द्र कुँबर,उपाध्यक्षहरु रमा पौडेल, गणेश निरौला लगायतले यो मुलुक श्रमिकका लागि अनुकुल हुन नसकेको भन्दै अनौपचारिक क्षेत्रका काम गर्ने ९६ प्रतिशत श्रमिकहरुको अधिकारका विषयमा आवाज उठाउनुपर्ने बताए । त्यस्तै मजदुरको उन्नति र विकासमा राजनीतिक दलहरुले गम्भिर बन्न नसकेको आरोप लगाउदै उनीहरुले वर्गीय हितमा दबाबमुलक कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आईएलओका कन्ट्री डाईरेक्टर, रिचार्ड हवार्ड, डब्लु एस एमका महासचिव आम्द्रे, जिलाफका प्रतिनिधि युकी लगायतले शुभकामना दिंदै नेपालका मजदुरहरुको हकहितका लागि यहाँका संगठनहरुसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित : १८ बैशाख २०७४, सोमबार ०७:४५