निर्वाचनको लागि भारतले दियो ८६ वटा सवारीसाधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

निर्वाचनको लागि भारतले दियो ८६ वटा सवारीसाधन



काठमाडौं १९ बैशाख । भारत सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ करोड ९१ लाख मूल्य बराबरका ८६ वटा सवारीसाधन सहयोगस्वरुप उपलब्ध गराएको छ ।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको उपस्थितिमा निर्वाचन आयोगमा आयोजित समारोहमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले सवारीसाधनको साँचो हस्तान्तरण गरे ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन यही वैशाख ३१ र दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुन लागेको छ । भारत सरकारले स्थानीय तहको निर्वाचनका लागि आयोगलाई ३५ वटा पिकअप, सात वटा स्करपियो जिप, पाँच वटा कार, एउटा मिनीबस, एउटा माइक्रो बस, ३० वटा पल्सर मोटरसाइकल र सात वटा स्कुटर उपलब्ध गराएको हो ।नेपाल–भारतबीच सहयोग आदानप्रदानको एउटा कडीको रुपमा पछिल्लो सहयोग उपलब्ध गराइएको यहाँ स्थित भारतीय राजदूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत पुरीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आयोगले गरिरहेको बृहत् तयारीप्रति बधाई दिदैं नेपालको सामाजिक र आर्थिक रुपान्तरण तथा शान्ति र स्थायित्वका लागि भारत सधै सहयोग गर्न तत्पर रहेको बताए ।
नेपाल सरकारको आग्रहमा भारतले स्थानीय तह निर्वाचनका लागि सहयोग स्वरुप सवारीसाधन र बन्दोबस्तीका सामग्री उपलब्ध गराएको भारतीय राजदूतावासले जनाएको छ ।

प्रकाशित : १९ बैशाख २०७४, मंगलवार ०६:०४