बिल तिर्न आउँदा ग्राहकलार्इ एलइडी बल्ब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिल तिर्न आउँदा ग्राहकलार्इ एलइडी बल्ब



काठमाडौँ २२ बैशाख। सरकारले दुई करोड थान एलइडी बल्ब खरीद गर्ने भएको छ। खरीद भएको बल्ब नेपाल विद्युत प्राधिकरणले उपभोक्तालार्इ बिक्री गर्नेछ।मन्त्रीपरिषद्को विहिबारको बैठकले एलइडी बल्ब किन्ने निर्णय गरेको थियो।भारतबाट ल्याउन लागिएको यो बल्बको मूल्य १ सय २५ रुपैयाँ पर्ने छ।यही बल्ब बाहिर बजारमा किन्दा ३ सय ५० रुपैयाँ पर्छ।यो बल्ब प्रयोगमा ल्याउन सकिएमा दुर्इ सय मेगावाट विजुली बचत हुन्छ।

कम विजुली खपत गर्ने यो बल्ब किन्न उर्जामन्त्रालयले पहल गर्दै आएका थियो।केही साता मुख्यसचिव सोमलाल सुवेदीले बल्ब किन्ने निर्णय रोक्न खोजेका थिए।तर विहिबारको मन्त्रीपरिषद्को बैठकमा उर्जामन्त्री जनार्दन शर्माको जोडबलले बल्ब किन्ने निर्णय सदर भएको छ।

देशभर कम बिजुली खपत गर्ने एलइडी बल्ब वितरण गर्ने प्राधिकरणको योजना छ । त्यसका लागि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा भएको सम्झौताअनुसार ऊर्जा मन्त्रालयले भारतीय सरकारी कम्पनीबाट दुई करोड थान एलइडी बल्ब किन्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको थियो ।

मन्त्रिपरिषद्मा तीन महिना पहिले पेस भएको प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयको समेत स्वीकृतिमा पारित गरिएको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए।

एलइडी बल्ब खरिदका लागि रु दुई अर्ब खर्च हुने ऊर्जा मन्त्रालयको भनाइ छ । दुई करोड थान एलइडी बल्ब वितरण गर्न सकिए २०० मेगावाट विद्युत् बचत हुने र सरकारको रु ४० अर्ब बचत हुने जनाइएको छ । ती बल्ब सात र नौ वाटका छन् । प्राधिकरणका अनुसार एलइडी बल्बले चार गुणासम्म बिजुली बचत गर्छ ।

प्रकाशित : २२ बैशाख २०७४, शुक्रबार ०६:४८