अनुदानमा आएका चिनियाँ बिमान अनुपयुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अनुदानमा आएका चिनियाँ बिमान अनुपयुक्त



काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमलाई अनुदानमा आएका दुई चिनियाँ बिमान नेपालका लागि अनुपयुक्त भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विमानमा देखिएका समस्या समाधानका लागि गठित समितिले चाईनिज विमान नेपाली मौसम र विमानस्थलहरुका लागि उपयुक्त नभएको प्ररम्भिक ठहर गरेको हो ।

चिनियाँ बिमानमा पटक–पटक समस्या देखिएपछि समस्या सल्टाउन पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बनाएको समितिका संयोजक रहेका मन्त्रालयका सहसचिव सुरेश आचार्यले पहिलो चरणको अध्ययनले न्युन गुणस्तरका चिनियाँ बिमान खरिद भएको देखिएको बताए ।

उनले चिनले दिएको एमए–६० बिमान नेपालको तराईको गर्मी मौसमका लागि अनुपयुक्त भएको जानकारी दिए । ३८ डिग्री सेन्टीग्रेट भन्दा बढीको तापक्रममा ४० प्रतिशत मात्र यात्रु बोक्ने बिमानले निगमलाई घाटामा धकेल्ने अवस्था आएको संयोजक आचार्यको भनाई छ ।यस्तै वाई–टुभेल–ई बिमान पनि नेपालका ग्रामिण तथा पहाडी भेगका अप्ठेरा बिमानस्थलमा उडान/अवतरण गर्न नसक्ने भएकाले नेपालका लागि उपयोगी नदेखिएको समितिको प्रारम्भिक ठहर छ । नेपालका लागि उपयुक्त नहुने बिमान किन ल्याईयो भन्नेबारे प्रारम्भिक चरणमा निगम भित्रनै छानबिन गरिने समितिले जनाएको छ ।

छानविनका लागि समितिले निर्णय प्रक्रिया संलग्न निगमका अधिकारीहरुसंग स्पष्टीकरण सोधेको छ । चिनियाँ उत्पादक कम्पनीसंग किन नेपालको लागि उपयोगी नहुने बिमान ल्याउने सम्झौता भयो भन्नेबारे प्रश्नचिन्ह खडा भएको समिति संयोजक आर्चायको भनाई छ ।

अनुदानमा दुईवटा बिमान ल्याएपछि अब चिनसंग निगमले उतै गुणस्तरका थप ४ वटा बिमान खरिद गर्दैछ । तर, बिमान गुणस्तरहिन भएको पाईएपछि मन्त्रालयले खरिद प्रक्रिया स्थगित गरेको छ ।

निगमले उडान थप्ने
राष्ट्रिय ध्वजाबाहाक नेपाल बायुसेवा निगमले आगामी सेप्टेम्बरदेखि भारतको मुम्बई र बैंगलोरमा उडान सुरु गर्ने भएको छ । दुईवटा नयाँ एयरबस ल्याएपछि गन्तब्य बिस्तारको क्रममा रहेको निगमले भारतका दुई गन्तब्यमा सेवा बिस्तार गर्ने निर्णय गरेको हो ।

एयरबसबाटै दुबई र चिनको ग्वान्झाओमा पनि उडान सुरु गर्ने तयारी भएपनि कहिलेदेखि थाल्ने भन्ने निश्चित नभएको निगमका कर्पोरेट डाईरेक्टर तथा प्रवक्ता रामहरी शर्माले जानकारी दिए । निगमसंग अहिले ५ वटा जेट बिमान छन भने ३ वटा ट्वीनेटर बिमान छ ।

जेट बिमानहरुले अहिले दिल्ली, बैंकक, दोहा, क्वाललम्पुर र हङकङ गरी ५ अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भरिरहेका छन ।

जहाज खदिका लागि १० अर्व रुपैयाँ ऋण लिएको निगमको अअिले झण्डै १ अर्व रुपैयाँ बराबरको व्यवस्थापकीय ऋण समेत रहेको प्रवक्ता शर्माले बताए । निगमको बिग्रिएको अवस्था सुधार गर्न ल्याईएका चिनियाँ बिमानले निगमलाई झन अप्ठेरोमा धकेलेको शर्माको भनाई छ ।

२०१५ सालमा स्थापना भएको निगमभन्दा दुई वर्षपछि उडान सुरु गरेको थाइल्यान्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेजले हाल झण्डै १ सय जहाजबाट ३५ देशका ६० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहँदा नेपाली बायुससेवा कम्पनि भने नाफामा पनि सञ्चालन हुन सकेको छैन ।

प्रकाशित : १८ असार २०७२, शुक्रबार ०४:२९