कामना र सेवाले बोलाए एकै दिन विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कामना र सेवाले बोलाए एकै दिन विशेष साधारण सभा



काठमाडौं १० जेठ।पोखरामा केन्द्रीय कार्यालय रहेको कामना विकास बैंक र बुटवलमा मुख्य कार्यालय भएको सेवा विकास बैंकले जेठ २५ गते विशेष साधारण सभा बोलाएका छन् । सभामा यी दुवै बैंकले एक आपसमा मर्ज हुने सम्बन्धी भएका सम्झौता र सहमति पत्रहरुको अनुमोदन गर्ने र मर्जरको लागि स्विकृति प्रदान गर्ने विशेष प्रस्ताव गरेका छन् । साथै, १ः१ अनुपातमा स्वाप रेसियो पारित गर्ने र गाभिएपछि ‘कामना सेवा विकास बैंक’ को नामबाट वित्तीय कारोबार गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा पेस गरिँदैछ । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरमा राख्ने प्रस्ताव पनि साधारण सभामा गरिएको छ ।

कामनाको विशेष साधारण सभा होटल पोखरा ग्रान्ड पार्दी बिरौटा, पोखरामा हुनेछ भने सेवाको आम्रपाली कटेज एन्ड रेष्टुरेन्टको सभाहल, बुटवल–८ मा हुनेछ । दुवै बैंकको विशेष साधारण सभा बिहान ९ बजे सुरु हुनेछ । मर्जर प्रकृयामा रहेका कारण यी दुवै बैंकको सेयर कारोबार गत मंसिर १२ गतेदेखि नै बन्द रहँदै आएको छ । तेस्रो त्रैमासमा कामनाको चुक्ता पुँजी ८० करोड ४३ लाख ७९ हजार रुपैयाँ र सेवाको ९४ करोड १८ लाख ६१ हजार रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंकलाई चाहिने चुक्ता पुँजी पुर्याउन यी दुई बैंक मर्जमा गएका हुन् । कामनाले हालैमात्र ३०% हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा अनुमति पनि मागेको छ ।

 

प्रकाशित : १० जेष्ठ २०७४, बुधबार ०८:४३