पर्यटक आगमनमा सुधार आउने अपेक्षा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पर्यटक आगमनमा सुधार आउने अपेक्षा



आगामी शरद ऋतुको पर्यटकीय याममा यसअघि अपेक्षा गरिएको पर्यटक संख्याभन्दा एक तिहाई आउने प्रक्षेपण पर्यटन व्यवसायीहरुले गरेको छन्।

पर्यटक धेरै आउने केही पश्चिमा देशले आफ्ना नागरिकलाई नेपालमा यात्रा गर्न जाने सुझावलाई खुकुलो बनाइदिएपछि त्यति पर्यटकहरु आउने अनुमान गरिएको हो।

नत्र भूकम्पपछि पर्यटक आगमन लगभग शून्यमा झरेको थियो भने कतिपय देशले नेपालमा भ्रमण गर्न असुरक्षित हुन सक्ने भन्दै यात्रा सुझाव जारी गरेका थिए।

खासगरी अमेरिका, ब्रिटेन र न्युजिल्याण्ड जस्ता देशले भूकम्पपछि नेपालको यात्राबारे जारी गरेको कडा सुझावलाई केही खुकुलो पारिदिएपछि पर्यटकहरुको आगमन बढ्ने व्यवसायीहरुले अनुमान गरेका हुन्।

“न्युजिल्याण्ड जाउ भन्दा अष्ट्रेलियासम्मको पर्यटक तान्छ, ब्रिटेन जाउ भनेपछि युरोपका देशहरु परे भने अमेरिकाले भन्दा नर्थ अमेरिकासम्मका पर्यटकहरु पर्छ, यति भएपछि हामीलाई चिन्ता छैन”
सुमन पाण्डे, संयोजक, टुरिजम रिकभरी कमिटी

पर्यटन मन्त्रालयदेखि पर्यटन क्षेत्रमा काम गर्ने निजी संघ संस्थाहरुले पर्यटकलाई नेपाल आउन प्रोत्साहित गर्न विभिन्न प्रयास जारी राखेका बेला ती देशले यात्रा सुझाव केही खुकुलो बनाइदिएका हुन्।

भूकम्पपछि पर्यटनमा परेको प्रभावबाट पार पाउनका लागि गठन गरिएको टुरिजम रिकभरी कमिटिका संयोजक सुमन पाण्डे भन्छन्, “न्युजिल्याण्ड जाउ भन्दा अष्ट्रेलियासम्मको पर्यटक तान्छ, ब्रिटेन जाउ भनेपछि युरोपका देशहरु परे भने अमेरिकाले भन्दा नर्थ अमेरिकासम्मका पर्यटकहरु पर्छ, यति भएपछि हामीलाई चिन्ता छैन्।”

सम्बन्धित देशले ट्राभल एड्भाइजरीमा कडिकडाउ गर्दा पर्यटकहरुले बीमाको सुविधा सहजै पाउँदैनन्, जुन पर्यटक नआउनुको प्रमुख कारण रहने गर्दछ।

तर अहिले पर्यटकहरुको आउने बाटो खुलेको र यसले आगामी शरद ऋतुसम्ममा सामान्य स्थितिमा पहिले आँकलन गरिएको भन्दा, एक तिहाई पर्यटक भित्रिने अनुमान गरिएको छ।

नेशनल एसोसियसन अफ टुर अपरेटर्स नाटोका अध्यक्ष अशोक पोखरेल भन्छन्, “आगामी डिसेम्बरसम्म ७० हजार पर्यटक आउने हाम्रो अनुमान हो, त्यति हुन सकेपनि यसले धेरै मद्दत पुग्नेछ।”

नेपालमा आउने पर्यटकहरु खासगरी साहसिक यात्राका लागि र सम्पदा हेर्न आउने गर्दछन्।

हालै नेपाल सरकारले डीएफआइडीमार्फत एक अमेरिकी कम्पनीलाई अन्नपूर्ण र सगरमाथा क्षेत्र यात्राका लागि कत्तिको सुरक्षित छन् भन्ने अवस्थाबारे मूल्याँकन गर्न जिम्मा दिएको छ।

त्यसको नतिजा पनि कुरिरहेको पर्यटन व्यवसायीहरुको भनाई छ।

नेपालको ८० प्रतिशत पर्यटन क्षेत्रलाई भूकम्पले केही क्षति नपुगेको भन्दै पर्यटन मन्त्रालय र व्यवसायीहरुले प्रचार गरिरहेका छन्।बीबीसी नेपाली सेवाबाट

प्रकाशित : २१ असार २०७२, सोमबार ०७:३३