एनसेलले सुरु गर्यो फोरजी सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनसेलले सुरु गर्यो फोरजी सेवा



काठमाडौं,१८ जेठ  ।निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले चौथो जेनेरेसन अर्थात् फोरजी सेवा सुरु गरेको छ । सेवा सुरु गरेको अवसरमा ३ दिनका लागि १ जीबी डाटा फ्रिमा दिएको जनाएको छ ।

नयाँ फ्रिक्वेन्सी नबढाई ०६४ सालमै दिएको फ्रिक्वेन्सी अनुसार एनसेलले बिहीबारदेखि फोरजी सेवा सुरु गरेको हो ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ९ सय मेगाहर्ज ब्यान्ड र १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थता बमोजिमका सेवा सुरु गर्न अनुमति दिएको हो । प्राधिकरणले दिएको अनुमति अनुसार नै एनसेलले फोरजी सेवा सुरु गरेको हो ।

एनसेलले राज्यलाई तिर्नुपर्ने २४ अर्ब रुपैयाँ पुँजीगत तिर्न बाँकी रहेकाले फोरजी लगायतका सबै प्रकारका व्यवसाय विस्तार गर्ने योजना अस्वीकृत गर्नु भन्ने लेखा समितिको निर्देशन दिएको थियो ।

तर, एमाले नेता रविन्द्र अधिकारी सभापति रहेको विकास समितिले एनसेललाई फोरजी सेवा दिन प्राधिकरलाई निर्देशन दिएको थियो । विकास समितिको निर्दशन अनुसार एनसेललाई फोरजीको अनुमति दिइएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

त्यसो त प्राधिकरणले लेखा समितिको निर्देशनको पनि पालना गरेको अर्यालले बताए ।

‘विकास समितिले फोरजी सेवा दिनु भन्ने निर्देशन दियो, लेखा समितिले पनि व्यवसाय विस्तारका योजना अस्वीकृत गर्नु भन्यो । हामीले दुबै समितिको निर्देशनको पालना गर्दै पुरानै फ्रिक्वेन्सीमा एनसेललाई फोरजी सेवा सञ्चालनको अनुमति दिएका हौं,’ उनले भने ।

एनसेलले ६ महिनाभन्दा अघि नै फोरजी सञ्चालनको अनुमति माग्दै प्राधिकरणमा आवेदन दिएको थियो ।

 

प्रकाशित : १८ जेष्ठ २०७४, बिहीबार ०६:५३