एक लगानीकर्ता एक डिम्याट खाता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक लगानीकर्ता एक डिम्याट खाता



काठमाडाै १९ जेठ ।नेपाल धितोपत्र बोर्डले सेयर बजारलाई व्यवस्थित गर्न एक लगानीकर्ता एक डिम्याट (हितग्राही) खाताको अवधारणालाई अघि बढाएको छ । एउटै व्यक्तिको धेरै खाता हुँदा दुरुपयोग हुने गुनासो आएपछि बोर्डले एक व्यक्ति एक डिम्याट खाताको अबधारणालाई अधि बढाएको हो । एक व्यक्ति एक खाताको व्यवस्थालाई कार्यान्वयनमा ल्याएर कडाइका साथ लागू गर्ने वा अन्य कुनै विकल्प खोज्ने भन्ने विषमा छलफल भइरहेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी बताउँछन् । ‘एक लगानीकर्ता एक हितग्राही खातालाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने विषयमा सम्बद्ध सरोकारवालासँग छलफल भइरहको छ,’ उनले भने, ‘पहिलो चरणमा मर्चेण्ट बैंकर र सीडएस एण्ड क्लियरिङसँगको छलफल सकियो ।’ सेयर बजारमा हुने लगानी र लगानीकर्ताको वास्तविक पहिचालनका लागि पनि एक व्यक्ति एक खाताको अबधारणा आवश्यक भएको बोर्डले जानकारी दिएको छ । एउटै व्यक्तिको धेरै खाता हुँदा हकप्रद सेयरमा आवेदन दिँदा समस्या उत्पन्न हुनुका साथै साधारण सेयर निष्काशनमा पनि एउटै व्यक्तिले २/३ वटा आवेदन दिन सक्ने बोर्डको तर्क छ । उदाहरणका लागि धेरै खाताको संचालन गर्न पाउँदा एउटै व्यक्तिले सिताराम र सिता राम गरी दुई वटा हितग्राही खाता खोलेर लाभ लिन सक्ने समेत गिरी बताउँछन् । बोर्डले धितोपत्र सम्बन्धि निर्देशिका परिमार्जन गर्दै प्राकृतिक व्यक्तिले मात्र साधारण सेयरमा आवेदन दिन पाउने र आस्वा प्रणाली अन्तरगत साउन १ गतेबाट न्युनतम १० कित्ता सेयर पर्ने ग्यारेन्टी गरेको छ । यसरी एउटै व्यक्तिले २-३ वटा आवेदन दिएमा समस्या उत्पन्न हुने बोर्डको तर्क छ । केही समय अघि लगानीकर्ता पहिचानका लागि इम्भेष्टर्स आईडी बनाउने चर्चा चलेको थियो । तर, उक्त परिचयपत्र बनाउने विषयमा पनि त्यतिकै थन्किएकाले तत्कालका लागि व्यवस्थित गर्न एक व्यक्ति एक हितग्राही खाताको अवधारणालाई अघि बढाइएको गिरी बताउँछन् । साथै सो विषय पनि छलफलकै क्रममा रहेकाले टुङ्गो लाग्न अझै समय लाग्ने उनको तर्क छ । बोर्डले २०७२ साल माघदेखि हितग्राही खाताको व्यवस्था गरेको थियो । २०७३ माघसम्ममा डिम्याट खाता खोल्नेहरुको संख्या ७ लाख ४६ हजार ६ सय ६० पुगेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मात्र ३ लाख ५४ हजार ३ सय १ जनाले डिम्याट खाता खोलेका छन् ।

प्रकाशित : १९ जेष्ठ २०७४, शुक्रबार ०६:१३