करको दर नबढाउन एफएनसीसीआईको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

करको दर नबढाउन एफएनसीसीआईको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०७२/७३ को वार्षिक बजेटमा भ्याटको थ्रेसहोल्ड बढाउन र करको दर नबढाउन आग्रह गरेको छ । महासंघले अर्थमन्त्री डा रामशरण महतलाई दिएको सुझाव राजस्व केन्द्रित छ ।

महासंघले २०५४ सालमा तोकेको भ्याटको थ्रेसहोल्ड अहिले ठीक नभएको भन्दै एक करोड पुर्याउन आग्रह गरको हो । अहिलेसम्म वार्षिक २० लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्ने फर्म भ्याटको दायरामा पर्छन ।

महासंघका अध्यक्ष पशुपति मुरारकाले वैशाख १२ पछि उद्योग व्यवसाय संचालनमा निकै कठिन भएकाले उद्योगहरु पूर्ण क्षमतामा संचालन हुने वातावरणका लागि करका दर नबढाउन आग्रह गरे । उनले बजेटमा महासंघको सुझाव समेटिने विश्वास पनि व्यक्त गरे ।

अध्यक्ष मुरारकाले हालसम्म सबै नागरिकको सम्पत्तिको अभिलेख गर्ने व्यवस्था नभएकोले एकपटकका लागि निश्चित मिति तोकेर सम्पत्ति तथा आम्दानीको शून्यदरमा सम्पत्ति अभिलेखीकरण गर्न पाउने व्यवस्था गर्न पनि सुझाव दिएका छन् ।

निजी क्षेत्रका धारणा तथा सुझाव प्राप्त भएपछि अर्थमन्त्री डा. महतले निजी क्षेत्रका तर्फबाट नीतिगत र अपरेशनल दुवै प्रकारका सुझावहरु आएकाले तीनको राम्रो विश्लेषण गरि वजेटमा समावेश गरिने विश्वास दिलाए ।

उद्योग धन्दा वृद्धि गर्नका लागि सरकारले व्यवसायिक समूदायलाई सहजीकरण गर्ने र उद्योग व्यवसाय र आर्थिक गतिविधिहरु वृद्धि भएपछि राष्ट्र आर्थिक प्रगतिको वाटोमा जाने भन्दै अर्थमन्त्रीले निजी क्षेत्रका सुझाव अनुसार नै अघि बढ्ने पनि बताए ।

अर्थमन्त्रीले स्वदेशी उद्योगधन्दा र उत्पादन प्रतिस्पर्धी हुनुपर्नेमा जोड दिए । १५ प्रतिशतसम्म महंगो भएपनि स्वदेशी वस्तुनै खरीद गर्ने सरकारको नीति रहेको भन्दै यतिधेरै मार्जिन दिंदा पनि प्रतिस्पर्धी हुन नसके व्यवसाय फस्टाउन नसक्ने उनले बताइ । भ्याट थ्रेस होल्ड बढाउने सम्बन्धमा छलफल भैरहेको भन्दै अर्थमन्त्रीले यसलाई कसरी व्यवस्थित गर्ने त्यसमा निजी क्षेत्रबाट ठोस सुझावको अपेक्षा गरेको बताए ।

महासंघका महासंघको कर तथा राजश्व समितिका सभापति शौरभ ज्योतिले अर्थमन्त्री महतलाई लिखित सुझाव पेश गरे । भ्याट, आयकर, अन्तशुल्क र भन्सारमा सम्बोधन गर्नुपर्ने विषयलाई उनले बुँदागत रुपमा पेश गरेका छन् ।

प्रकाशित : २१ असार २०७२, सोमबार १३:४१