लक्ष्मी बैंकको साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी बैंकको साधारण सभा



काठमाडौं, २१ जेठ ।लक्ष्मी बैंकको सोह्रौं वार्षिक साधारण सभा असार १३ गते बस्ने भएको छ । साधारण सभामा बैंकले १८.२९प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव गरेको छ । बैंकले गत वर्षको पुँजीबाट ३८ प्रतिशत बोनस दिने पस्ताव गरेपनि हालै बिक्री गरिएको १००प्रतिशत हकप्रद र दियालो विकास बैंकलाई गाभेर कायम भएको चुक्ता पुँजीलाई समेत हिसाब गर्दा यो बोनस दर १८.२९प्रतिशत मात्र हुन आउँछ । यसका साथै, बैंकले कुल चुक्ता पुँजीमा संस्थापक सेयरधनीको स्वामित्व ५१प्रतिशत कायम हुनेगरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा पेस गर्दैछ ।

लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थाबीच मर्ज वा एक्विजिसन गर्नुपरेमा आवश्यक प्रकृया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि साधारण सभामा प्रस्तुत गरिने भएको छ । यसैगरी, लक्ष्मीले आवश्यकता बमोजिम बैंक आफै वा अन्य कम्पनीसँग संयुक्त लगानीमा जीवन वा निर्जीवन बिमा, पुनर्बिमा, भेन्चर क्यापिटल/प्राइभेट इक्विटी/हेज फन्ड, क्रेडिट रेटिङ, धितोपत्र दलाल, स्टक एक्सचेञ्ज र फिन्टेक सम्बन्धी काम गर्ने प्रस्ताव पनि साधारण सभामा लैजाने भएको छ । साधारण सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ ।

साधारण सभा गर्न बैंकले असार २ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा, बैंकको बोनस असार १ गतेसम्म कायम सेयरधनीले मात्र पाउनेछन् । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो त्रैमासमा चुक्ता पुँजी ३ अर्ब १५ करोड ९० लाख ३० हजार रुपैयाँ मात्र छ । बैंकले हालै बिक्री गरेको १००प्रतिशत हकप्रद र १८.२९प्रतिशत बोनस पछि चुक्ता पुँजीमा वृद्धि हुनेछ । लक्ष्मीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २ पैसा छ भने प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ६ पैसा छ ।

प्रकाशित : २१ जेष्ठ २०७४, आईतवार ०६:४४