खाद्यान्न अभावलाई कम गर्न साना किसानमा लगानीः गभर्नर नेपाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खाद्यान्न अभावलाई कम गर्न साना किसानमा लगानीः गभर्नर नेपाल



काठमाडौं । साना किसानमा गरिने लगानीले खाद्यान्नमा भएको अभावलाई कम गर्न सकिने नेपाल राष्ट्र बैंकका  गर्भनर चिरञ्जीवि नेपालले बताएका छन् । साना किसान बैंकको चौधौं साधारणसभालाई सम्बोधन गर्दै गर्भनर नेपालले ६६ प्रतिशत जनता कृषिमा नै आश्रित रहेको प्रशंग जोड्दै साना किसानमा लगानी बढाउँदा खाद्यान्न उत्पादन बढ्नुका साथै विदेशबाट आयात गरिने खाद्य सामग्रीमा पनि कमी आउने बताए ।

स्थानीयस्तरमा सञ्चालित सहकारीसंस्थाको सहकार्यमा न्युनस्तरका कृषकलाई कर्जा प्रवाह गरी कृषिलाई आधुनिकीकरण गर्न सहयोग पुर्याएको साना किसान विकास बैंकलाई प्रोत्साहन गर्न सके देशको अर्थतन्त्र समेत मजबुत हुने उनको भनाई थियो । उनले भुकम्प पछाडिको वर्तमान सन्दर्भमा करिब २ देखि ३ प्रतिशतले थप गरिब बढ्ने भन्दै गरिब न्युनिकरण गर्न र देशलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन कृषिलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखे  ।

त्यस्तै कृषि विकास बैंकका सिइयो लीला प्रकाश सिटौलाले कृषि विकास बैंकबाट हुर्केको यो बैंक किसानको लागि विशेष सहयोगीका भूमिका खेलेकोले आभार प्रकट गरे । उनले कृषिमा २ प्रतिशत जनता आश्रित इजरायलमो जिडीपिमा २० प्रतिशतको योगदान रहेको तर झण्डै ७५ प्रतिशत जनता कृषिमा आश्रित रहेकोमा ३५ प्रतिशत मात्रै रहेकोले यसले कृषिमा लगानी बढाउनुपर्ने देखिएको बताए ।

कार्यक्रममा बोल्दै साना विकास बैंकका सिइयो जलन कुमार शर्माले बैंकले कृषिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै बैंकको कुल सम्पत्ति ८ अर्ब ९८ करोड रहेको बताए । उनले बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ११ करोड ५२ लाख नाफा आर्जन गरेको जानकारी दिए । त्यस्तै बैंकले २०७२ को जेष्ठ मसान्तसम्ममा २५ अर्ब ६३ करोड लगानी गरी १७ अर्ब ६४ करोड असुल गरेको समेत जनाइएको छ ।

बैंकले देशभरका चार सय पन्चानब्बे सहकारीसंस्थामा आबद्ध साना किसान सदस्यहरुबाट जम्मा भएको शेयर, बचत आदि गरी ११ अर्ब ९७ करोड स्थानीय पुँजी र बैंकको लगानी ७ अर्ब ९९ करोड समेत गरी साना किसान सहकारी संस्था क्षेत्रमा झण्डै २० अर्ब रुपैंया पुँजी परिचालन भएको जनाइएको छ ।

प्रकाशित : २२ असार २०७२, मंगलवार १२:४३