स्वास्थ्य बिमा कार्यक्रम सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वास्थ्य बिमा कार्यक्रम सुरु



भक्तपुर, ६ असार । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गत स्वास्थ्य बिमा कार्यक्रम सुरू भएको छ ।बिमा कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले वार्षिक रू दुई हजार ५०० बिमा शुल्क भुक्तानी गरेपछि रू ५० हजारसम्म उपचार सेवा पाउने व्यवस्था छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीका अनुसार पाँचजना भन्दाबढी सदस्य भएमा प्रतिव्यक्ति रू ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको रू १० हजार उपचार सेवा थपिने व्यवस्था गरिएको छ ।

पाँच जनासम्मको लागि रू ५० हजार अनिवार्य गरिएको छ भने कार्यक्रमको अधिकतम सीमा रू एक लाख निर्धारण गरिएको छ । सरकारले निःशुल्क तोकेका औषधि र उपचार सेवा भने यसमा समावेश नहुने लोहनीले बताए । स्वास्थ्य बिमा गर्नेले हाललाई भक्तपुरका छ वटा स्वास्थ्य संस्थाबाट सेवा पाउने व्यवस्था गरिएको छ ।

भक्तपुर अस्पताल, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र, मध्यपुर थिमी नपाको व्यवस्थापनमा सञ्चालित नेपाल कोरिया मैत्री अस्पताल, चाँगुनारायण नगरपालिकाको चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र र सूर्यविनायक नगरपालिकाको दधिकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बिमा गरेका व्यक्तिले उपचार सेवा पाउनेछन् ।

आव २०७२÷७३ मा कैलाली, बागलुङ, इलामबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रम अव भक्तपुरसँगै चितवन, जुम्ला र तनहुँमा सञ्चालनमा आएको छ । यही असारबाट जाजरकोट, मकवानपुर र गोरखामा पनि कार्यक्रम सुरू गर्ने तयारी भइरहेको छ ।

प्रकाशित : ६ असार २०७४, मंगलवार ०८:१९