चक्रपथ विस्तार अलपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चक्रपथ विस्तार अलपत्र



काठमाडौं । भूकम्पका नाममा ‘नेपालमा बसेर काम गर्न नसक्ने’ भन्दै चिनियाँ कामदार स्वदेश भागेपछि आठ लेनको कोटेश्वर-कलंकी सडकखण्ड अलपत्र परेको छ। समयमा सडक निर्माण गर्ने काम नहुँदा सर्वसाधारण घाममा धुलो खान र वर्षामा हिलो झेल्न बाध्य छन्।

आगामी सन् २०१६ को मे महिनामा सम्पन्न हुनुपर्ने ५० मिटर चौडाइको उक्त सडकखण्ड अहिले पूर्ण रूपमा ठप्प रहेको अन्नपूर्ण पोस्टमा खबर छ।

ठेकेदार चीनको संघाई कन्सट्रक्सन ग्रुपका तर्फबाट श्रमिकदेखि प्रोजेक्ट म्यानेजरसम्म ९० जना चिनियाँ कामदार गत वैशाख १२ गते भूकम्प गएलगत्तै जानकारी नदिई स्वदेश फर्केका थिए।

काठमाडौं चक्रपथ सुधार आयोजनाका प्रमुख अशोक तिवारीका अनुसार चिनियाँ कामदारलाई नेपाल फर्काएर काम नियमित गराउन पटकपटक ताकेता गरे पनि ठेकेदारले हालसम्म चासो देखाएका छैनन्।

‘भूकम्पको बहानामा स्वदेश गएका कामदारहरू अझै नफर्कंदा काम पूर्ण रूपमा ठप्प बनेको छ। तीन महिनादेखि कुनै काम भएको छैन’, प्रमुख तिवारीले शुक्रबार भने, ‘पछिल्लोपटक गत बुधबार पनि ठेकेदार गु्रपलाई कामदार फर्काएर काम नियमित गराउन ताकेदा गरेका थियौं।

तर कुनै चासो देखाएन। कुनै जबाफसमेत दिएको छैन’, उनले भने।

संघाईले कामप्रति लापरबाही गरेको भन्दै आयोजनाले आगामी साता चिनियाँ राजदूतावास तथा तिब्बतको ल्हासास्थित चिनियाँ महावाणिज्य दूतावासलाई आवश्यक जानकारी गराउने भएको छ।

प्रकाशित : २६ असार २०७२, शनिबार ०४:३६