प्राङ्गरिक खेतीमा उद्यमीको जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्राङ्गरिक खेतीमा उद्यमीको जोड



काठमाडौं । नेपाल चेम्वर अफ कमर्स र जिल्ला कृषि विकास कार्यालय काठमाडौंको समन्वयमा आयोजित उद्यमी कृषक परिचयपत्र वितरण तथा प्राङ्गरिक खेती प्रवद्र्धन गोष्ठीका सहभागीहरुले खाद्यन्नमा आत्मानिर्भर हुन प्राङ्गरिक खेतीको  उत्पादन र जनचेतना अभिवृद्धी गर्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि विकास मन्त्रालयका निमित्त सचिव डा. श्याम किशोर साहले सरकारले उपलव्ध गराएको विभिन्न सुविधा उपभोग गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषकहरुलाई अनुरोध गरे ।

उनले प्राङ्गरिक मलको उत्पादन तथा निकासीमा सरकारले प्रदान गरेको ५० प्रतिशतको अनुदान उपभोग  गर्न कृषकहरुलाई अनुरोध गर्दै परम्परागत तथा निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गर्नु पर्ने बताए ।  निमित्त सचिव साहले कृषक परिचयपत्र प्राप्त गर्ने कृषकहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उद्यमी कृषक परिचयपत्र र राष्ट्रपति पुरस्कारको व्यवस्था कृषी र कृषकहरुको उत्पादकत्व वृद्धि गर्न ल्याईएको बताए ।

नेपाल चेम्वर अफ कमर्सका कार्यवाहक अध्यक्ष लोक मान्य गोल्छाले कृषि प्रधान देशले खाद्यान्न आयात गर्नु पर्ने स्थिीती सृजना हुनु दुखद रहेको बताउंदै कृषिलाई व्यवसायीकरण गर्न सरकारले आगामी केही वर्ष कृषि क्षेत्रलाई लक्षित गरी पर्याप्त बजेट विनियोजन गर्नु पर्नेमा जोड दिए । उनले जग्गा खण्डीकरणको समस्या प्रमुख समस्या भएको भन्दै सरकारले कृषिमा निजी क्षेत्र आकर्षित गर्न विशेष सुविधा तथा सहुलियत दिनु पर्ने बताए ।

कार्यक्रममा कृषि विभागका महनिर्देशक युवक ध्वज जोशीले प्राङ्गरिक खेती सम्बन्धी सरकारी नीति तथा कार्यान्वयन स्थिति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा प्राङ्गरिक खेती र प्रमाणीकरणको आवश्यकता, आवधिक योजना र प्राङ्गरिक कृषि प्रवद्र्धन, राष्ट्रिय कृषि नीति २०६१, कृषि व्यवसाय प्रवद्र्धन नीति २०६३, राष्ट्रिय मल नीति २०५८ जस्ता विषय उल्लेख थियो ।

त्यसै गरी जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ अधिकृत अरुण प्रकाश भट्टले पर्यावरणीय सेवाहरु र प्राङ्गरिक कृषि” विषयक कार्यपत्रमा पर्यावरणीय सेवाको वर्गीकरण, पर्यावरणीय सेवाहरुको अवस्था, पर्यावरणीय सेवाको मूल्य, पर्यावरणीय सेवाको संरक्षण र सम्वद्र्धन गर्ने उपायहरु, जमीन व्यवस्थापन र पर्यावरणीय सेवा वीच अन्तरसम्बन्धका बारेमा प्रकाश पारेका थिए ।

काठमाडौं जिल्लाका कृषकहरुलाई उद्यमी कृषक पहिचान पत्र वितरण गरिएको उक्त कार्यक्रमक्रमा खाद्यन्न बाली अन्तर्गत धान बाली उत्पादन प्रतियोगितामा प्रथम हुने गोकर्णेश्वर—११का राजेन्द्र श्रेष्ठ, द्वितीय हुने बुढानिलकण्ठका हरिशरण श्रेष्ठ, तृतिय हुने चन्द्रगिरीका श्याम श्रेष्ठ र सान्त्वना प्राप्त गर्ने गोकर्णेश्वरका मदन थापालाई चेम्वरका कार्यवाहक अध्यक्ष तथा कृषि मन्त्रालयका निमित्त सचिव डा. श्याम किशोर शाहले संयुक्त रुपमा क्रमश ५ हजार, ३ हजार, २ हजार, ५सय र कदरपत्रले सम्मानित गरेका थिए ।

कार्यक्रममा सहभागी कृषकहरुले कृषि क्षेत्रमा देखिएका समस्या, समाधान र हालै गएको भूकम्पले कृषि व्यवसायमा पुगेको क्षति बारे चर्चा गरेका थिए ।

प्रकाशित : २६ असार २०७२, शनिबार १२:४०