चार खर्बको बेरुजु , चुप लागेर बस्ने प्रवृत्ति अन्त्य हुन अावश्यकः राष्ट्रपति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

चार खर्बको बेरुजु , चुप लागेर बस्ने प्रवृत्ति अन्त्य हुन अावश्यकः राष्ट्रपति



काठमाडौँ, १५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राजस्व, ऋण, अनुदानबाट प्राप्त सहयोग अनुशासित रुपमा खर्च गराउन महालेखापरीक्षकको कार्यालयले कडा रुपमा काम गर्नुपर्ने बताएकि छिन ।

महालेखा परीक्षकको कार्यालयको ५९औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वित्तीय अनुशासनहीनतामा चुप लागेर बस्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताइन ।

“प्रत्येक वर्ष बेरुजु कहालीलाग्दो रुपमा बढिरहेको छ, वित्तीय अनुशासन कायम गर्न बेरुजु छिटो फछ्र्योट हुनुपर्छ, आर्थिक अनियमितता र भ्रष्टाचारबाट मुक्त नभई देश समृद्ध हुँदैन, यसैले आर्थिक अनुशासन कायम गराउन कार्यालयको भूमिका महत्वपूर्ण हुन्छ” – उनले भनिन् ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले करिब रु चार खर्ब बेरुजु फछ्र्योट गर्न तत्काल काम सुरु गर्ने प्रतिबद्धता जनाए । “नयाँ सङ्घीय संरचनाअनुसार आगामी आवदेखि स्थानीय तहमा धेरै बजेट जाँदैछ, यो बजेटमा आर्थिक अनुशासन कायम गर्न कार्यालयको भूमिका महत्वपूर्ण हुन्छ” – उनले भने  ।

महालेखा परीक्षक टङ्कमणि शर्माले कार्यालयको ५४औँ वार्षिक प्रतिवेदनमा रु तीन खर्ब ९६ अर्ब २५ करोड बेरुजु देखिएको जानकारी दिनुभयो । “५४औँ प्रतिवेदनमा चार हजार ७८६ कार्यालयको लेखापरीक्षण गरिएको थियो, ५५औँ प्रतिवेदनका लागि पाँच हजार ५०० कार्यालयको लेखापरीक्षण गर्नुपर्नेछ” – उहाँले भन्नुभयो ।

वर्षौंदेखिको बेरुजु फछ्र्योट गर्नु चुनौती बनेको कार्यालयले जनाएको छ । कार्यालयले यस वर्षदेखि सामाजिक लेखापरीक्षण र सामूहिक लेखापरीक्षणको अवधारणा पनि ल्याउने भएको छ ।

प्रकाशित : १५ असार २०७४, बिहीबार १०:४९