एनआईसी एशियाको नाफा १४७ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआईसी एशियाको नाफा १४७ करोड



काठमाडौं  ४ साउन । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको १ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा गरेको छ । आर्थिक वर्ष २०७२÷७३ मा १०७ करोड रुपैयाँ नाफा गरेको यो बैंकले आर्थिक वर्ष २०७३/७४मा ३७ प्रतिशतले नाफा बढाएको छ ।

१९ वर्ष पुरा गरी २० वर्ष प्रवेश गरेको अवसरमा बैंकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै २०७४ असार मसान्तसम्ममा निक्षेप ८५ अर्ब संकलन भएको, कर्जा ७२ अर्ब लगानी भएको जानकारी दिएको छ । ‘बैकिङ क्षेत्रमा गत आर्थिक वर्ष तरलताको अभाव हुँदै पनि एनआईसी एशियाले निक्षेप २६ प्रतिशत वृद्धि गर्न र कर्जा २२ प्रतिशतले विस्तार भएको छ’ बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले भने ।

बैंकको खराव कर्जा घटेको, सम्पत्तिको क्वालिटी धेरै राम्रो भएको र बैंकले इक्रा नेपाल लिमिटेडबाट उत्कृष्ट गुणस्तरीय क्रेडीट रेटिङ ‘इक्रा एनपीआईआर ए’ प्राप्त गरेको उनले बताए ।

एनआईसी एशियाले २०औं वर्षमा आक्रामक रुपमा बजार विस्तार गर्ने जनाएको छ । ‘चालु आर्थिक वर्षभित्रका बैंकको शाखा २०० वटा र एटीएम ३०० वटा सञ्चालनमा आउनेछन् । यस वर्ष निक्षेप ११५ अर्ब रुपैयाँ पुर्याउने र कर्जा ९५ अर्ब पुर्याउने लक्ष्य लिएको छौं’ प्रमुख कार्यकारी अधिकृत रिसालले भने ।

चालु आर्थिक वर्षभित्र जाजरकोटमा केन्द्रीय कार्यालय राख्ने गरी माइक्रोफाइनान्स खोल्न लागिएको उनले बताए । केही महिनाअघि मात्र यस बैंकले एनआईसी क्यापिटल सञ्चालनमा ल्याएको छ । ‘बैंकिङ बाहेक अर्थतन्त्रका अन्य क्षेत्रमा पनि योगदान गर्ने लक्ष्य बैंकले लिएको उनले बताए ।

बैंकले निकट भविष्यमा फूलफेजमा अनलाईनबाट आश्वा एकाउन्ट र डिपोजिट एकाउन्ट खोल्न सकिने गरी डिजिटल बैकिङ सेवा दिन लागेको उनले बताए । ‘आश्वाको एकाउण्ट खोल्ने र सेयर आवेदन गर्न कागज छुन नपर्ने गरी फूलफेज अनलाईन सेवा दिने अन्तिम तयारीमा छौं’ प्रमुख कार्यकारी अधिकृतले भने ।

१९ वर्षमा बैंकले सरकारलाई करिव ५ अर्ब रुपैयाँ राजश्व तिरेको र लगानीकर्तालाई ५ अर्ब ६० करोड लाभांश वितरण गरेको उनले जानकारी दिए ।

प्रकाशित : ४ श्रावण २०७४, बुधबार १५:१९