डब्लुएफपीको चामल किलोको ३४ पैसा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डब्लुएफपीको चामल किलोको ३४ पैसा



काठमाडौं ।भूकम्प पीडितलाई कुहिएको चामल वितरण गरेको आरोप खेप्दै आएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले विश्वमै सबैभन्दा सस्तो मूल्यमा चामल खरिद गरी नेपालमा वितरण गरेको पाइएको छ। विभिन्न आपूर्तिकर्तामार्फत प्रतिकेजी ३४ पैसामा चामल खरिद गरी डब्लुएफपीले नेपालका भूकम्प पीडितलाई राहत स्वरूप वितरण गरिरहेको छ।


नागरिक दैनिकमा सुरेन्द्र पौडेल लेख्छन्–वैशाख १२ गतेको भूकम्पपछि सरकारले जेठ २० गतेसम्म भित्रिने सम्पूर्ण राहत सामग्रीलाई भन्सार छुट दिने निर्णय गरेको थियो। यही अवधिमा डब्लुएफपीले नेपालका भूकम्प पीडितलाई राहत भन्दै ४८ लाख १० हजार केजी चामल भन्सार छुटमा भित्र्याएको थियो। सबै चामल डब्लुएफपीले भारतको सरकारी निकाय ‘द स्टेट ट्रेडिङ अफ इन्डिया लिमिटेड’ सँग खरिद गरेको हो।

डब्लुएफपीले विभिन्न आपूर्तिकर्तामार्फत भारतको द स्टेट ट्रेडिङ अफ इन्डिया लिमिटेडबाट २० खेपमा ४८ लाख १० हजार केजी चामल खरिद गरेको थियो। सबै चामल डब्लुएफपीले नेपालगन्ज भन्सार नाकाबाट नेपाल भित्र्याएको देखिन्छ।

सरकारले राहत सामग्रीको परिमाण, त्यसको मूल्य र वितरण गर्ने स्थान भन्सार कार्यालयमा टिपाएपछि मात्र भन्सार छुट दिने निर्णय गरेको थियो। यसै अनुसार डब्लुएफपीले नेपालगन्ज नाकामा चामलको परिणाम, त्यसको मूल्य र वितरण गर्ने स्थान उल्लेख गरी भन्सार छुटमा भारतबाट चामल भित्र्याएको थियो। नेपालगन्ज नाकाबाट वैशाख १३ देखि जेठ २० गतेसम्म भिœयाइएको कुल ४८ लाख १० केजी चामलको मूल्य डब्लुएफपीले भन्सार कार्यालयमा १६ लाख ४६ हजार २० रुपैयाँ उल्लेख गरेको छ। जसअनुसार प्रतिकेजी चामल औसत ०.३४२ रुपैयाँ पर्न आउँछ।

‘डब्लुएफपीको सूचीमा दर्ता भएका सामग्री विभिन्न आपूर्तिकर्तामार्फत भारतबाट भूकम्प पीडितको लागि खरिद गरी ल्याएको छ, जसमा चामल पनि पर्छ,’ विश्व खाद्य कार्यक्रम नेपालका सञ्चार अधिकृत रामजी दाहालले भने, ‘आपूर्तिकर्ताले प्रतिकेजी कति मूल्यमा चामल ल्याए, त्यो बुझ्नैपर्छ।’ भूकम्प पीडितका लागि विभिन्न आपूर्तिकर्तामार्फत भारतको द स्टेट ट्रेडिङ अफ इन्डिया लिमिटेडसँग चामल खरिद गरिएको जनाउँदै आपूर्तिकर्ता बाहिर निस्किसकेकाले चामलको मूल्य बताउन असमर्थ रहेको उनले बुधबार बताए।

भन्सार विभागले तयार पारेको वैशाख १३ देखि जेठ २० गतेसम्म १३ वटा भन्सार नाकाबाट नेपाल भित्रिएका राहत सामग्रीसम्बन्धी  कागजातअनुसार डब्लुएफपीले भूकम्पपछि पीडितका लागि पहिलो खेप चामल वैशाख ३१ गते नेपालगन्ज नाकाबाट भिœयाएको देखिन्छ। पहिलो खेपममा १ लाख ९२ हजार केजी चामल भित्रिएको छ, जसको मूल्य भन्सार नाकामा ६५ हजार ६ सय ६४ रुपैयाँ उल्लेख छ।

त्यसपछि डब्लुएफपीले जेठ १ गते ९० हजार केजी चामल ल्याएको छ, जसको मूल्य भन्सारलाई ३० हजार ७ सय ८० रुपैयाँ टिपाइएको छ। जेठ १ देखि २० गतेसम्म १३ गते एक दिन मात्र डब्लुएफपीले भारतीय निकायसँग खरिद गरेको चामल नेपाल भित्रिएको छैन। ‘यति धेरै परिमाणमा चामल भित्रिएको छ, जसको मूल्य पत्याउनै नसकिने छ। डब्लुएफपीले भूकम्पपीडितलाई वितरण गरेको चामल कुहिएको भेटिनुमा कतै चामलको मूल्य त कारण होइन? शंका गर्ने ठाउँ छ,’ भन्सार विभाग उच्च स्रोतले भन्यो।

जेठ २ गते डब्लुएफपीले ६९ हजार ७ सय ४२ रुपैयाँमा २ लाख १ हजार केजी चामल नेपाल भिœयाएको देखिन्छ। डब्लुएफपीले नेपालगन्ज नाकाबाटै जेठ ३ गते ५५ हजार ४ सय ४ रुपैयाँमा १ लाख ६२ हजार केजी चामल ल्याएको भन्सारमा टिपाएको छ। यस्तै जेठ ४ गते २ लाख ८९ हजार केजी चामल ल्याएको देखिन्छ, जसको मूल्य ९८ हजार ८ सय ३८ रुपैयाँ उल्लेख छ। ४६ हजार ८ सय ५४ रुपैयाँमा १ लाख ३७ हजार केजी चामल जेठ ५ गते डब्लुएफपीले बुझेको छ।

जेठ ६ गते डब्लुएफपीले २ लाख ८६ हजार केजी चामल नेपालगन्जमा बुझेको छ, जसको मूल्य उसले ९७ हजार ८ सय १२ रुपैयाँ जनाएको छ। २ लाख २५ हजार केजी चामल जेठ ७ गते बुझेको देखिन्छ, जुन ७६ हजार ९ सय ५० रुपैयाँमा खरिद गरिएको उल्लेख छ। विभागका अनुसार ९५ हजार ७ सय ६० मूल्य उल्लेख गरी डब्लुएफपीले जेठ ८ गते २ लाख ८० हजार केजी चामल बुझेको छ। यस्तै, जेठ ९ गते १ लाख २८ हजार केजी चामल डब्लुएफपीको नाममा भित्रिएको छ, जसको मूल्य ४३ हजार ७ सय ७६ रुपैयाँ छ।

द स्टेट ट्रेडिङ अफ इन्डिया लिमिटेडबाट डब्लुएफपीले जेठ १० गते ३ लाख ८४ हजार केजी चामल बुझेको छ। डब्लुएफपीले यसको मूल्य भन्सारलाई १ लाख ३१ हजार ३ सय २८ रुपैयाँ टिपाएको छ। यस्तै डब्लुएफपीले जेठ ११ गते ६५ हजार ६ सय ६४ रुपैयाँमा १ लाख ९२ हजार केजी, जेठ १२ गते ७३ हजार ८ सय ७२ रुपैयाँमा २ लाख १६ हजार केजी र जेठ १४ गते १ लाख १६ हजार २ सय ८० रुपैयाँमा ३ लाख ४० हजार केजी चामल बुझेको छ।

विभागको तथ्यांकअनुसार जेठ १५ गते ३ लाख १६ हजार केजी चामल डब्लुएफपीले बुझेको छ। जसको मूल्य १ लाख ८ हजार ७२ रुपैयाँ उल्लेख छ। जेठ १६ गते ५१ हजार ९ सय ८४ रुपैयाँमा डब्लुएफपीले १ लाख ५२ हजार केजी चामल ल्याएको देखिन्छ। डब्लुएफपीले ३ लाख ७७ हजार केजी चामल जेठ १७ गते भित्र्याएको छ। यसको मूल्य भन्सारमा १ लाख २८ हजार ९ सय ३४ टिपाइएको छ।

डब्लुएफपीले एकै दिन सबैभन्दा बढी चामल जेठ १८ गते भिœयाएको देखिन्छ। उक्त दिन १ लाख ४९ हजार १ सय १२ रुपैयाँमा ४ लाख ३६ हजार रुपैयाँ डब्लुएफपीले बुझेको छ। यस्तै जेठ १९ गते ६४ हजार ९ सय ८० रुपैयाँमा १ लाख ९० हजार केजी र जेठ २० गते ७४ हजार २ सय १४ रुपैयाँमा २ लाख १७ हजार केजी चामल भिœयाएको थियो।

विदेशबाट आउने राहत सामग्रीको सम्पूर्ण विवरण राख्ने जिम्मेवारी पाएको गृह मन्त्रालयसँग भने डब्लुएफपीले के–कति राहत सामग्री ल्यायो, कहाँ वितरण गर्योन भन्ने तथ्यांक छैन। डब्लुएफपीले ९५ भन्दा बढी अन्तर्राष्ट्रिय संघसंस्थाले भूकम्पपीडितलाई पठाएको राहत सामग्री पनि बुझ्ने र वितरण गर्ने गरेको छ, जसको विवरण पनि गृहसँग छैन।

‘डब्लुएफपी नेपाल सरकारको निगरानीमा बस्न चाहँदैन, कति सामग्री ल्यायो, कहाँ वितरण गर्योन भन्ने हामीलाई केही पत्तो छैन, उसले नेपालमा समानान्तर सरकार चलाएको छ,’ गृह मन्त्रालय स्रोतले भन्यो। भूकम्प पीडितका लागि सबैभन्दा बढी चामल बंगलादेशले पठाएको थियो। बंगलादेशले पठाएको १ करोड केजी चामल परराष्ट्र मन्त्रालयले बुझेको थियो। बंगलादेशले १ करोड केजी चामल पठाउँदा प्रतिकेजी औसत ३९.६० रुपैयाँ परेको देखिन्छ।

डब्लुएफपीले चामलका साथै दाल र पहेँलो केराउ पनि विभिन्न आपूर्तिकर्तामार्फत भारतबाट खरिद गरी नेपाल भिœयाएको देखिन्छ। सम्पूर्ण दाल र पहेँलो केराउ डब्लुएफपीले भारतको अलाइन्स ग्रेन ट्रेडर्स, इन्डिया प्रालिसँग खरिद गरेको छ। वैशाख १३ गतेदेखि जेठ २० गतेसम्म डब्लुएफपीले भारतीय कम्पनीबाट ७ लाख १९ हजार १ सय ९२ केजी दाल र २ लाख २८ हजार ९ सय ५२ केजी केराउ खरिद गरेको देखिन्छ।

भन्सार विभागको तथ्यांकअनुसार डब्लुएफपीले ७ लाख १९ हजार १ सय ९२ केजी दाल २ करोड ४६ लाख ३२ हजार ३ सय ३० रुपैयाँमा खरिद गरेको देखिन्छ, जसअनुसार प्रतिकेजी दाल औसत ३४.२५ रुपैयाँ पर्छ। यस्तै २ लाख २८ हजार ९ सय ५२ केजी केराउ डब्लुएफपीले ७८ लाख ४१ हजार ६ सय रुपैयाँमा खरिद गरेको देखिएको छ। डब्लुएफपीले केराउ प्रतिकेजी औसत ३४.२४ रुपैयाँमा खरिद गरेको छ। दाल र पहेँलो केराउको तुलनामा डब्लुएफपीले चामल भने निकै सस्तो मूल्यमा खरिद गरेको देखिन्छ। दाल र केराउको सबै परिमाण डब्लुएफपीले नेपालगन्ज नाकाबाट भित्र्याएको हो।

वैशाख १२ गते विनाशकारी भूकम्प गएपछि पीडितको राहतका लागि भनी विभिन्न देशबाट २ करोड केजीभन्दा बढी चामल भित्रिएको छ। जसमा सबैभन्दा ठूलो हिस्सा बंगलादेशले पठाएको चामलले ओगटेको छ भने त्यसपछि डब्लुएफपी। भूकम्प पीडितलाई काभ्रेपलाञ्चोक, गोरखा र नेपालगन्जमा वितरण गरेको चामल कुहिएको पाइएपछि डब्लुएफपी विवादमा तानिएको थियो। राष्ट्रिय मानवअधिकार आयोग र संसदीय समितिले काभ्रे, गोरखा र नेपालगन्ज पुगी डब्लुएफपीले वितरण गरेको चामलको सम्बन्धमा अनुसन्धान गरेको थियो। आयोग र समिति दुवैले डब्लुएफपीले कुहिएको चामल वितरण गरेको भन्दै कारबाही गर्न सरकारलाई भनेको थियो।

डब्लुएफपीले भने कुहिएको चामल वितरण नगरेको दाबी गर्दै आएको छ। वितरण गर्नुअगावै जाँच गर्दा कुहिएको भेटिएपछि फिर्ता गर्न राखेको चामललाई वितरण गरेको भन्दै गलत आरोप लगाइएको धारणा डब्लुएफपीले राख्दै आएको छ। केही दिनअघि नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयका निर्देशक जोन गिङले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले भूकम्प पीडितलाई कुहिएको चामल वितरण गर्यो भनी नेपाली मिडियाले ‘ननसेन्स रिपोर्ट’ प्रस्तुत गरेको आरोपसमेत लगाएका थिए।

प्रकाशित : ३१ असार २०७२, बिहीबार ०२:२५