६ करोड कित्ता शेयर आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

६ करोड कित्ता शेयर आउदै



काठमाडौं ७ साउन । शेयर बजारमा छिट्टै करिब ६ करोड कित्ता शेयर आउने भएको छ । बैंक, विकास बैंक, फाइनान्स तथा जलविद्युत् कम्पनीहरुको ५ करोड ८१ लाख ७६ हजार ७ सय ६७ कित्ता शेयर निष्काशन  गर्न लागेका हुन ।

नेपाल धितोपत्र बोर्डमा परेको आवेदनका अनुसार उक्त परिणाममा शेयर आउन लागेको हो । यसमध्ये १५ कम्पनीको साधारण शेयर (IPO) आउन लागेको हो भने विभिन्न सेक्टरका ६ कम्पनीको फर्दर पब्लिक अफरिङ आउन लागेको हो ।

साधारण शेयर निष्कासनका लागि आवेदन दिएका १५ कम्पनीमध्ये नेपाल हाइड्रो डेभलपर लिमिटेडले आईपीओ निष्काशनका लागि बोर्डबाट अनुमति पाएको छ भने बाँकी १४ कम्पनी आईपीओ निष्कासनको अनुमतिको पर्खाइमा रहेका छन् । यी कम्पनीहरुको ३ अर्ब ३९ करोड ४ लाख २९ हजार रुपैयाँको ३ करोड ३९ लाख ४ हजार २८० कित्ता शेयर निष्कासन हुन लागेको हो ।

नेपाल हाइड्रोले सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । यसअघि आयोजना प्रभावित स्थानीयका लागि २ लाख ६० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँडसमेत गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर जारी गर्न लागेको हो ।

आईपीओ निष्कासनको लागि पाइपलाइनमा रहेका १५ कम्पनीमध्ये १३ वटा जलविद्युत् कम्पनी छन् । पाइपलाइनमा बाँकी दुई कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्था रहेका छन् ।

दुई वाणिज्य बैंक सहित छ कम्पनीले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । एनएमबि बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो । बैंकले पुँजी वृद्धिका लागि एफपीओ निष्काशन गर्न लागेको हो । त्यस्तै बैंक अफ काठमाडौंले पनि संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर संरचना मिलाउनका लागि एफपिओ निष्काशन गर्दैछ ।

त्यस्तै पोखरा फाइनान्स, नेपाल ग्रामीण विकास बैंक, प्रिमियर इन्स्योरेन्स, बुटवल पावर कम्पनीले पनि पुँजी वृद्धिका लागि एफपीओ जारी गर्न लागेका हुन् । जसमध्ये पोखरा फाइनान्सले शेयर बिक्रीका लागि बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ, भने अन्य पाँच कम्पनी बोर्डको अनुमतिको पर्खाइमा छन् ।

 

प्रकाशित : ७ श्रावण २०७४, शनिबार ०७:२४