बजेट कार्यान्वयनमा लाग्न अर्थमन्त्रीको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बजेट कार्यान्वयनमा लाग्न अर्थमन्त्रीको निर्देशन



काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले बजेटलायई सफलतापूर्वक कार्यान्वयनमा लैजानुपर्ने विचार व्यक्त गरेका छन् । ‘यस पटकको बजेट राम्रो बनेको छ यसलाई कार्यान्वयनमा लैजानेतर्फ ध्यान दिनु जरुरी छ,’ अर्थमन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा मातहतका विभाग र कार्यालयका प्रमुखहरुलाई निर्देशन दिदै उनले भने, ‘तपाईहरुले बजेट निर्माणका क्रममा र स्रोत जुटाउनका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा प्रभावकारी काम गर्नुभयो अव यसको कार्यान्वयन चुनौतीपूर्ण छ ।’ साथै, कार्यान्वयनमा पनि कर्मचारीहरुले सक्रिय भूमिका निर्वाह गर्नु आवश्यक रहेको बताए । अन्यथा बजेट जतिसुकै राम्रो भएपनि सोचेजस्तो नतिजा प्राप्त हुन नसक्ने उनको दावी थियो ।

बजेटमा जतिसुकै कार्यक्रमहरु राखेपनि सबैका माग पूरा हुन नसक्ने भन्दै उनले एकैबर्षको बजेटबाट सबै कुरा पूरा गर्न नसकिने बताए । ‘भूकम्पअघिको प्रक्षेपण गर्दा लगातार ५ प्रतिशत माथिको आर्थिक वृद्धि हासिल हुने स्थिति थियो । लगानीकर्ताहरु उत्साहित थिए,’ उनले भने, ‘भूकम्पले गति केही रोकियो । तैपनि निराश हुनुहन्न । हामीले फेरि त्यो गति समात्न सक्नेछौं ।’

अर्थमन्त्रालयको सक्रियताले मात्र नपुग्ने बताउँदै अरुलाई तताउने काममा पनि आफ्नो तर्फबाट सक्रियता देखाउन आग्रह गरेका थिए । साथै, अन्य विकासे मन्त्रालयहरुलाई स्रोतको समुचित व्यवस्थापन गर्नु आवश्यक रहेको जानकारी दिए ।

राजस्व असूलीको लक्ष्य समात्न अझ सक्रियता देखाउन जरुरी रहेको जानकारी दिँद करदाताहरुको आत्मसम्मान कायम राख्दै असूलीमा जोड दिन आग्रह गरेका छन् । पेश्की खर्च विधेयक पारित भैसकेको जानकारी दिदै उनले अवरोध नहुनेगरी काम अगाडि बढाइहाल्न समेत निर्देशन दिएका छन् ।

सो अवसरमा अर्थसचिव सुमनप्रसाद शर्माले खर्चको अख्तियारी १ गते नै पठाइसकेको जानकारी दिए । त्यसैगरी राजस्व सचिव नवराज भण्डारीले बजेट निर्माणको जतिकै चुनौती कार्यान्वयनमा पनि रहेको उल्लेख गरेका छन् ।
कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखाका प्रमुख तथा अन्य कर्मचारीहरु, सम्पत्ति शुद्धिकरण विभाग, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग तथा कर कार्यालयहरुका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : १ श्रावण २०७२, शुक्रबार १६:०४