घर विमा गर्नेहरु विमा रकमको पर्खाइमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

घर विमा गर्नेहरु विमा रकमको पर्खाइमा



नेपालमा ब्यांकबाट ऋण लिन या अन्य कारणले घर विमा गरेकाहरुले भूकम्पले घर क्षति भएको तिन महिना वित्दा पनि क्षतिपूर्ति रकम पाउन नसककेको विमा समितिले जनाएको छ।

विमाको दावी करिब १६ हजारले गरेको बताइन्छ। अहिलेसम्म लगभग ४ हजारले विमा क्षतिपूर्ति बापत झण्डै सवा दुइ अर्व रुपियाँ रकम प्राप्त गरिसकेका छन्। दावी गर्ने सवैलाई दिँदा त्यो १५ अर्व रुपियाँ हाराहारीमा पुग्ने आंकडा विमा अधिकारीहरुको छ।

बिबिसी नेपाली सेवा लेख्छ, विमाको रकम पाउन ढिलाई भएको गुनासो वढेपछि विमा समितिले त्यस्तो समस्याको समाधान गर्न सार्वजनिक सूचना जारी गरेको छ।

ज्ञानको अभाव

ढिलाई हुनुको कारण बारे विमा समितिका निर्देशक श्रीमान कार्की भन्छन् – ‘क्षतिको मुल्यांकन हिसाव निकाल्ने सर्वेयरहरुको संख्या निकै कम छ। अचानक आइलागेको समस्यासंग जुझ्न कम्पनिहरुसंग कर्मचारीहरु पनि नपुग भयो।’

विमा गर्नेहरुमा पूर्ण ज्ञान नहुंदा पनि समस्या आइरहेको बताइएको छ ।

निर्देशक कार्की भन्छन् – ‘थुप्रै समस्या विमा गर्नेहरुमा त्यसबारे सही जानकारी नभएर पनि हुन गयो। जस्तै प्रायजसो विमा वाध्यताले गरेको देखिन्छन्। बैंकमा ऋण लिंदा अनिवार्य विमाको प्रावधान उनीहरु स्विकार्छन् तर त्यसभित्रको नियम बुझ्दैनन्।’

संभावना

सगरमाथा इन्स्योरेन्सको दावी शाखामा कार्यरत अधिकृत सुरज ढकाल भन्छन् – ‘विमितहरु क्षति भन्दा धेरै वढी रकम चाहन्छन्। त्यसले ढिलासुस्तीमात्र हुने नभई अन्य समस्या पनि निम्त्याउने गरेको छ।’

नेपालमा कुल जनसंख्याको छ प्रतिशतले मात्र विमा गर्ने गरेको देखिन्छ।

पन्ध्र प्रतिशतको बीमा गर्न सक्ने हैसियत रहेको समितिको हिसाब छ।

भूकम्पपछि विमा गर्न आउनेहरुको संख्या ह्वात्तै वढेको कम्पनीहरु बताउँछन्।

नेपालमा सरकारी र निजी गरी २६ वटा विमा कम्पनी दर्ता भएका छन् ।

जसमा १७ वटा कम्पनी निर्जीवन विमाका हुन् ।

प्रकाशित : १ श्रावण २०७२, शुक्रबार १६:३४