विदेशी लगानीकर्ताको आकर्षण बढ्यो: बोर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विदेशी लगानीकर्ताको आकर्षण बढ्यो: बोर्ड



भूकम्पको त्रास र त्यसपछिको अनिश्चित जस्तो देखिने वातावरणमा पनि नेपालमा आउन चाहने लगानीकर्ताहरुमाझ उत्साहको कुनै कमी नदेखिएको नेपाल लगानी बोर्डले जनाएको छ।

बोर्डका अनुसार सिमेन्ट तथा अन्य ठूला पूर्वाधार परियोजनाहरुमा त आकर्षण थप बढेको छ।

वैशाख १२ गतेको भूकम्प र त्यसपछिका कैयौं परकम्पहरुका कारण विश्वभर नेपालमा ठूलो विनाश भएको भन्ने खालका सन्देशहरु प्रवाह भएपछि चिन्तित लगानी बोर्डका अधिकारीहरु लगानीकर्ताहरुले पछिल्ला साताहरुमा देखाएको व्यवहारबाट उत्साहित भएका बनेको देखिन्छ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तका अनुसार कतिपय लगानीकर्ताहरुले त नेपाल भ्रमण नै गरेर आफ्नो विश्वास र आगामी योजना सुनाएका छन्।

उनले भने, “हामीलाई भेट्न धेरै लगानीकर्ताहरु आए। नाइजेरियाको डांगोटे समूह तथा भारतको जीएमआर जस्ता परियोजना सञ्चालन गर्न आँटेका लगानीकर्ता पनि आए। उनीहरुले अझ धेरै अवसर देखिरहेका छन्। जस्तो सिमेन्ट त अब पुनर्निर्माणदेखि लिएर ठूला परियोजनाहरुमा आवश्यक हुन्छ। संविधान आउने तय भएपछि त झन् त्यसले उनीहरुमा थप उत्साह देखिन्छ।”

नाइजेरियाको डांगोटे समूहले ५५ करोड तथा भारतको रिलायन्स समूहले ४० करोड डलर सिमेन्ट कारखानामा लगानी गर्न इच्छुक देखिएका छन्।

डांगोटे समूहले त यसै वर्षको अन्तसम्ममा निर्माण आरम्भ गर्न चाहेको आफुहरुलाई बताएको बोर्डका अधिकारीहरुले जनाए।

प्रमुख कार्यकारी पन्त भन्छन्, “सिमेन्टमा दुईवटा कम्पनीहरुले प्रस्ताव गरेका छन्। हामी त्यसको समीक्षा गर्दैछौं। त्यस्तै विमानस्थल निर्माणमा थुप्रै कम्पनीको धेरै उत्साह देखेका छौं। नयाँ-नयाँ सम्भाव्य आयोजना के छ भनेर पनि आइराखेका छन्।”

गत वर्ष ९०० मेगावाटको माथिल्लो कर्णाली र ९०० मेगावाटकै अरुण तेस्रोका निम्ति भारतका जीएमआर तथा सतलज निगमसंग आयोजना विकास सम्झौता गरेको बोर्डले अब छिट्टै ६०० मेगावाटको माथिल्लो मर्स्याङ्गदीको त्यस्तै सम्झौता गर्ने जनाएको छ।

६५० मेगावाटको अर्को तामाकोशी तेस्रो आयोजनामा भने भूकम्पका कारण आयोजनास्थलमा केही प्रभाव परेको हुनसक्ने ठानिएकाले प्रवर्द्धक कम्पनी स्टाटक्राफ्टले चाँडै त्यसको अध्ययन गर्न लागेको बताइएको छ।

प्रकाशित : २ श्रावण २०७२, शनिबार ०९:५५