हेटौँडा–कुलेखानी प्रसारण लाइन निर्माण सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हेटौँडा–कुलेखानी प्रसारण लाइन निर्माण सम्पन्न



काठमाडौँ । हेटौँडा–कुलेखानी खण्डको दोस्रो प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । प्रसारण लाइन निर्माणमा जग्गा प्राप्ति र मुआब्जा वितरणको समस्या भइरहेका बेला विद्युत् भार कटौतीलाई हल गर्न महत्वपूर्ण मानिएको सो आयोजना हालै सम्पन्न भएको हो ।

कुल ३२ किमी लामो सो प्रसारण लाइन १३२ किलोभोल्ट क्षमताको हो । हेटौँडाबाट मातातीर्थ हुँदै काठमाडौँको स्युचाटार जोडिएको सो प्रसारण लाइनले पूर्वाञ्चलको विद्युत् सहज रूपमा राजधानी ल्याउन र पश्चिमाञ्चलबाट काठमाडौँ आएको विद्युत्लाई पूर्व लैजान सहज भएको छ । स्युचाटारमा सवस्टेसनसमेत निर्माण सम्पन्न भएकाले विद्युत् भार कटौती घटाउन केही सहज भएको हो ।

सरकारले गत आर्थिक वर्षमा सम्पन्न गरेका ऊर्जा क्षेत्रसँग सम्बन्धित कार्य प्रगति विवरणअनुसार निर्माणाधीन ४० वटा प्रसारण लाइनमध्ये सो प्रसारण लाइन सम्पन्न भएकोे छ । अधिकांश प्रसारण लाइन निर्माणमा मुआब्जा वितरण र जग्गा प्राप्तिको समस्या बल्झिँदै आएको भए पनि त्यसलाई समाधान गर्न सरकारले नीतिगत व्यवस्था गरेको छ ।

खिम्ती ढल्केबर प्रसारण लाइन निर्माण प्रक्रिया सबैभन्दा बढ्ता जटिलतामा फसेको छ । सिन्धुलीमा छवटा टावर निर्माण हुन नसक्दा विगत १५ वर्ष पहिले सुरु भएको आयोजनाले पूर्णता पाउन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण र सो आयोजनाको प्रमुख लगानीकर्ता विश्व बैंकले समस्या समाधानका लागि दर्जनौँपटक प्रयत्न गरे पनि सफल हुन सकेको छैन ।

मुआब्जा वितरणमा देखिएको समस्याका कारण सो आयोजना निर्माण सम्पन्न हुन सकेको छैन । तर विवाद देखिएको भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु भएको छ । कुल २२० किलोभोल्ट क्षमताको सो आयोजनाको विस्तृत सर्वेक्षणको काम सम्पन्न भएको र चालु आवबाटै सुरु गर्ने लक्ष्य राखिएको छ ।

यस्तै थानकोट–चापागाउँ–भक्तपुर १३२ किलोभोल्ट प्रसारण लाइन निर्माणका लागि भक्तपुरमा ८५ वटा टावर निर्माणका लागि जग्गा खरिद गरिएको छ । कुल २८ किमी लामो सो परियोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने गरी काम सुरु गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

सरकारले बुटवल–कोहलपुर १३२ किलोभोल्ट दोस्रो सर्किटको निर्माण सम्पन्न गरेको छ । कुल २११ किमीमध्ये कोहलपुर, कुसुमखण्ड (४९ किमी), कुसुम लमहीखण्ड (४७ किमी), लमही–शिवपुर खण्ड (५१ किमी) र शिवपुर बुटवलखण्ड (६४ किमी)को समेत निर्माण सम्पन्न गरेको छ ।

त्यसैगरी मस्र्याङ्दी–काठमाडौँ २२० किलोभोल्ट प्रसारण लाइनका लागि बाणभञ्ज्याङदेखि तनहुँको चर्को चोकसम्मको सर्वेक्षणको कार्य सम्पन्न गरिएको र चालु आवबाटै निर्माण सुरु गर्ने सरकारको योजना रहेको छ भने कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणका लागि कुश्मा–बर्दघाटखण्डको समेत प्रारम्भिक काम सम्पन्न भएको छ । थप कार्य चालु आवमा नै सुरु गरिने छ ।

विद्युत् आयोजना निर्माण सम्पन्न गरेरमात्रै विद्युत् भार कटौतीलाई हटाउन नसकिने ध्येयका साथ प्रसारण लाइन निर्माण प्रक्रियालाई विशेष जोड दिइएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । सरकारले चालु आवका लागि विनियोजन गरेको बजेटमा समेत प्रसारण लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेका कारण प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर जाने अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ ।

प्रकाशित : ३ श्रावण २०७२, आईतवार १२:१५