नेपाल हाइड्रोको आईपीओ निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल हाइड्रोको आईपीओ निष्काशन



काठमाडौं, २७ साउन  । नेपाल हाइड्रो डेभलपर लिमिटेडले साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता प्राथमिक शेयर निष्काशन (आईपीओ) गरेको हो ।

यसअघि आयोजना प्रभावित स्थानीयका लागि २ लाख ६० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँडसमेत गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर जारी गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले यही साउन २७ गतेदेखि छिटोमा साउन ३२ र ढिलोमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

६ दशमलव ८ मेगावाटको तल्लो चर्नावती जलविद्युत् आयोजनाको निर्माण गर्न लागेको कम्पनीले यसअघि ३ दशमलव ५२ मेगावाटको चर्नावती जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । यस कम्पनीलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औसत रहेको देखिन्छ । यसअघि सञ्चालनमा रहेको पहिलो आयोजनाको आधारमा यस्तो रेटिङ प्रदान गरिएको हो ।

प्रकाशित : २७ श्रावण २०७४, शुक्रबार ०५:०२