मंगलबारदेखि बर्षा रोकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मंगलबारदेखि बर्षा रोकिने



काठमाडौं । देशका कतिपय स्थानमा थप वर्षाको भय व्याप्त भइरहँदा जल तथा मौसम विज्ञान विभागले देशको दक्षिण-पश्चिम भेग बाहेक अन्यत्र वर्षा हुने क्रम घटिरहेको जनाएको छ ।

विभागका अनुसार आइतबार राति भैरहवामा भारी (२२२ मिलिमिटर) वर्षा भएको थियो भने अन्यत्र सामान्य वर्षात मापन गरिएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्, वरुण पौडेलले दिएको जानकारी अनुसार चितवन, नवलपरासी र रुपन्देहीमा सामान्य वर्षा भइरहेको तर त्यो अवस्थामा क्रमिक सुधार हुँदै वर्षा रोकिने क्रममा छ ।

उनले भने, ‘मनसुन सकिएको छैन त्यसैले घाम लागेर चहकिलो भइहाल्ने अवस्था छैन । तर अवस्थामा सुधार भइरहेको छ । पश्चिम नेपालमा सामान्य वर्षा जारी रहने सम्भावना छ।’ ‘तर मंगलबारसम्ममा त्यो क्रम रोकिने देखिन्छ ।’

मौसमविद्‌हरुका अनुसार मनसुन सक्रिय भएको बेला न्यून चापीय अवस्था सृजना भएपछि गत शुक्रबारदेखि देशका विभिन्न स्थानमा भारी वर्षा भएको हो ।

गृह मन्त्रालयले राहत वितरण कार्य मौसमी अवस्थामा निर्भर हुने बताएको छ । उद्धार तथा राहत सामग्री वितरणका लागि हेलिकोप्टरहरुलाई राजधानीमा तयार अवस्थामा राखिएको सुरक्षा निकाय सम्बद्ध अधिकारीहरुले बताएका छन् ।

मौसमी अवस्थामा सुधार आए सोमबारबाटै राहत सामाग्री वितरणको कामले तीव्रता पाउने गृहमन्त्रालयका अधिकारीहरु बताउँछन् ।गृह मन्त्रालयका अनुसार पछिल्लो बाढी, पहिरोको श्रृङ्खलामा झण्डै ७० जनाको ज्यान गइसकेको छ । रेडक्रसले विपद्‌बाट करिब एक लाख मानिस प्रभावित भएको जनाएको छ । (बीबीसी) 

प्रकाशित : ३० श्रावण २०७४, सोमबार १९:०५