सगनुको दोस्रो चरणको शेयर निस्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सगनुको दोस्रो चरणको शेयर निस्कासन गर्ने



लण्डन । सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निस्कासनको औपचारिक घोषणा गरेको छ । बेलायतमा रहेका नेपालीमाझ एक बिशेष कार्यक्रममा शेयर निस्कासनको औपचारिक घोषणा गर्दै सगुनका संस्थापक गोविन्द गिरीले क्रेडिट र डेबिट कार्डमार्फत पनि लगानी गर्न सकिने जानकारी गराए ।

शेयर खरिदको लागि सहज बनाउन सगुनले यो पटक नयाँ व्यवस्था समेत मिलाएको हो । यसअघि बैङ्कमै गएर मात्र हुने कारोवारलाई सहज बनाउँदै सगुनले अमेरिकी सेक्युरिटिज एक्सचेन्ज कमिसनको स्वीकृतिमा क्रेडिट र डेविट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाएको हो । क्रेडिट र डेविट कार्ड मार्फत शेयरमा लगानी गर्न अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी हो ।

विदेशमा व्यस्तताका बीचमा लगानी गर्न चाहनेहरुको सहजतालाई ध्यानमा दिदै क्रेडिट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाइएको गिरीले बताए । उनले भने-‘क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्न पाउने नयाँ व्यवस्थाले प्रवासमा रहेका नेपालीहरुसहित अन्य सम्भावित लगानीकर्ताहरु लाभान्वित हुने विश्वास लिएको छु।’

क्रेडिट र डेविट कार्डमार्फत लगानी गर्ने पहिलो स्टार्टअप कम्पनी भएकोमा सगुनलाई प्राइम ट्रस्ट तथा फन्ड अमेरिकाका प्रमुख कार्यकारी अधिकृत स्कट पुर्सेलले बधाई दिएका छन् । उनले भने-‘क्रेडिट र डेविट कार्ड मार्फत लगानी जुटाउने रेगुलेसन ए प्लस अन्तर्गतको क्राउड फन्डिङ उद्योगको सगुन पहिलो कम्पनी भएको छ । यो सगुनका सम्भावित लगानीकर्ताहरुको लागि क्रान्तिकारी पहल हो । अब लगानीकर्ताहरुले क्रेडिट र डेविट कार्ड मार्फत समयको सदुपयोग गर्दै घरमै बसी-बसी लगानी गर्न सक्नेछन् ।’

सगुनले यो दोस्रो चरणमा अमेरिकाकै अग्रणी भुक्तानी प्रसोधन तथा प्रविधि सेवा प्रदायक कम्पनी भान्टिवसँग साझेदारी गरेको छ । भान्टिवले अमेरिकामा २५ अर्ब भुक्तानीहरुलाई सम्पन्न गरेको छ र यसलाई ८ लाखभन्दा बढी किनबेच गर्ने स्थलमा चलाउन मिल्दछ ।

“सगुन पहिलो रेगुलेशन ए प्रमाणित कम्पनी हो, जससँग हामीले क्राउड फन्डिङबाट लगानी जुटाउन सहकार्य गरिरहेका छौं ।भान्टिवले सम्भावित लगानीकर्तालाई थप सुविधा दिएको छ, जस अनुसार उनीहरुले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी कारोबार गर्न सक्छन् । हामी सगुनलाई उसको लगानीको लक्ष्य भेट्टाउने कार्यमा सहयोग गर्न पाउँदा उत्साहित छौं । सगुनजस्ता नवीन कम्पनीहरुले गर्दा हामीले हाम्रा सरल, छरितो तथा उत्कृष्ट सेवाको प्रदर्शन गर्न पाउँछौं”, भान्टिवका कम्पनी प्रमुख ग्रेग ओर्चले भनेका छन् ।

सेयर निश्कासनको औपचारिक घोषणा कार्यक्रममा संस्थापक गिरीले बेलायतमा रहेका नेपालीमाझ सगुनको दोस्रो चरणको शेयर निस्कासनको घोषणा गर्न पाउँदा खुसी प्रकट गरे । उनले भने-‘बीर गोर्खालीको रुपमा चिनिने बेलायती सेनामा रहेका नेपाली दाजुभाईले संसारमाझ आफ्नो वीरताको पहिचान दिएको गर्विलो इतिहासलाई सम्मान गर्दै गोर्खाली समुदायको माझबाट हामी सगुन लिएर संसारसामु प्रस्तुत भएका छौं ।’

सगुनले अमेरिकी कानुन रेगुलेशन ए प्लस अन्तर्गत मिनि आइपिओमार्फत २ करोड डलरको शेयर बिक्री गर्दैछ । यस शेयर निस्कासनको पहिलो चरणमा करिब ३५ सय लगानीकर्ता सगुनको शेयर खरिद प्रक्रियामा सहभागी भएका थिए ।

सगुनको यो चरणमा लगानी गर्नका लागि प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर किन्नुपर्ने हुन्छ । सगुनले यस चरणमा ८ लाख भन्दा बढी शेयर बिक्री गर्ने योजना बनाएको छ।

नेपालीले शुरु गरेको अमेरिकी स्टार्ट अप कम्पनी सगुनमा पहिलो चरणमा लगानी गर्ने अवसर नपाएका तथा छुटेका विश्वभरका नेपाली तथा अन्य सम्भावित लगानीकर्ताहरुलाई पहिलो चरणकै मूल्यमा दोस्रो चरणमा शेयर विक्री गर्ने योजना सगुनको रहेको छ ।

सगुनले संसारभर छरिएर रहेका नेपाली समुदाय तथा एशियाली समुदायलाई लक्षित गरी लगानीको योजना सार्वजनिक गरेको छ । सगुन निकट भविष्यमै आफ्नो बहुप्रतिक्षित स्मार्ट कार्ड लिएर आउने तयारीमा छ । यसका लागि सगुनको अमेरिका, भारत र नेपालको टीम संयुक्त रुपमा काम गरिरहेको छ ।

प्रकाशित : ४ भाद्र २०७४, आईतवार १७:१७