किसानलाई धानका बीउ निःशुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

किसानलाई धानका बीउ निःशुल्क



काठमाडौं । अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी)ले भूकम्प प्रभावित क्षेत्रका लागि १५० मेट्रिक टन धानका विभिन्न जातका बीउ तत्काल उपलब्ध गराउने भएको छ ।

संसदले २७ बुँदे सङ्कल्प प्रस्ताव जारी गरेलगत्तै भूकम्पपीडित क्षेत्रका किसानलाई इरीले धानका विभिन्न जातका बीउ उपलब्ध गराउने घोषणा गरेको कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले जानकारी दिए । विनाशकारी भूकम्पका कारण किसानले जतन गरिराखेका विभिन्न थरीका धानका बीउ घर भत्किएर पुरिएपछि इरीले धानको बीउ उपलब्ध गराउन लागेको हो ।

२७ बुँदे सङ्कल्प प्रस्तावमार्फत भूकम्प प्रभावित १४ जिल्लामा बर्खे बालीका लागि धान तथा तरकारीका बीउबिजन निःशुल्क वितरण गर्ने जनाएको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत कृषि विभाग र बीउबिजन कम्पनी लिमिटेडको संयुक्त प्रयासमा धान एवम् तरकारीका बीउबिजन निःशुल्क वितरण गर्न लागिएको हो ।

नेपालको प्रमुख खाद्यान्न बर्खे बालीका रुपमा धानलाई लिने गरिन्छ । नेपालको ६५ जिल्लामा धानखेती गरिन्छ । कुल गार्हस्थ्य उत्पादनमा धानको उत्पादन १९ प्रतिशत छ ।

नेपालमा प्रायः असारको दोस्रो साताबाट मनसुन सुरु हुन्छ । मौसम सुरु हुन एक महिना अर्थात् जेठको पहिलो साताबाट धानको बीउ छर्ने गरिन्छ । त्यसैगरी सरकारले सहुलियत दरमा ५५ हजार मेट्रिक टन रासायनिक मलसमेत उपलब्ध गराउने भएको छ ।

प्रकाशित : २ जेष्ठ २०७२, शनिबार ०८:४३