अपी हाइड्रोको विद्युत् केन्द्रीय लाइनमा जोडियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अपी हाइड्रोको विद्युत् केन्द्रीय लाइनमा जोडियो



काठमाडौं ।केन्द्रीय विद्युत् प्रशारणलाइनमा हिजोदेखि नौगाड साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत जोडिएको छ । अपी हाइड्रोपावर कम्पनिले निर्माण गरेको सो आयोजनाबाट केही समयअघि नै परीक्षण उत्पादन गरिसकेको भएपनि केन्द्रीय प्रशारणमा भने हिजोदेखि मात्रै जोडिएको हो ।

दार्चुलाको देथला गाविसस्थित नौगाडबाट उत्पादित आठ दशमलव पाँच मेगावाट विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएपछि सुदूरपश्चिममा अहिले हुँदै आएको विद्युत्भार कटौती हुने भएको छ । सो आयोजनाबाट उत्पादित विद्युत्लाई चमेलिया जलविद्युत आयोजनाको विद्युत् गृह रहेको दार्चुलाको शिखर गाविस–४ स्थित बलाँचको सवस्टेशनमा जोडेको हो । सो आयोजना सम्पन्न भएपछि सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बझाङ्, बाजुरा र अछाममा हाल भारतबाट आयातित विद्युतमा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य भएको छ । कम्पनीले यसअघि नै विद्युत् वितरण गर्न प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिसकेको छ ।

नेपाल विद्युत् प्राधिकरणले भारतको टकनपुर प्रसारण लाइनबाट करिब १५ मेगावाट विद्युत् खरिद गरेको थियो । उक्त विद्युत् अब सुदूरपश्चिममा खपत गरी बाँकी विद्युत्लाई बाँकेको कोहलपुर, लमहीसम्म खपत गर्न सकिने चमेलिया परियोजनाका उपप्रमुख अजय दाहालले बताए ।

आयोजनाहरूको निर्माण कार्य निर्धारित समयभन्दा ढिलो मात्र सम्पन्न हुने गरेको समयमा अपी पावर कम्पनीले छोटो समयमै जलविद्युत् उत्पादन गर्न सफल भएको छ । निर्माण सुरु गरेको १८ महिनाको अवधिमै कम्पनीले सो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्न सफल भएको कम्पनीका निर्देशक महेन्द्र न्यौपानेले बताए ।

दार्चुला जिल्लाको धुलीगडा गाविसमा बाँध बनाएर जिल्लाको देथला गविसमा जलविद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन गरिएको छ । कम्पनीले देथला गाविसमा विद्यालय भवन, मन्दिर, मिल, सडक एवम् सिँचाइ आयोजना निर्माण गरिसकेको छ ।

आयोजनाबाट प्राभावित शिखर, धुलीगढा, रेथला र रानीशिखर गाविसका जनताका लागि रु १० करोड बराबरको सेयर बितरण गर्नुका साथै हालै आम सर्वसाधारणका लागि पनि रु ३० करोड बराबरको सेयर निस्काशन गरेको छ ।

सो कम्पनीले सोही जिल्लाको धुलीगडा र सिप्टी गाविसमा आठ मेगावाट क्षमताका माथिल्लो नौगाड परियोजना निर्माण गर्नका लागि अनुमति प्राप्त गरिसकेको र नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएपछि निर्माण कार्य अगाडि बढाइने निर्देशक न्यौपानेले जानकारी दिए ।

प्रकाशित : ६ श्रावण २०७२, बुधबार १२:५६