नाडा अटो शो राजधानीमा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाडा अटो शो राजधानीमा सुरु



काठमाडौं। सवारी साधनको कुम्भ मेला भनेर चिनिने नाडा अटो शो राजधानीको भृकुटी मण्डपमा सुरु भएको छ।  भौतिक यातायात तथा पूर्वाधार मन्त्री बीरबहादुर बलायरले नाडा अटो शोको उद्घाटन गरे।

उद्घाटन समारोहमा यातायात मन्त्री बलायरले देशको राजश्व संकलनमा महत्वपूर्ण भूमिका खेल्ने अटोमोवाईल क्षेत्रले आफ्नो व्यापारिक फाईदाको लागि मात्र नभएर समग्र देशको हितको बारेमा सोच्न आग्रह गरे।

तीन वर्ष देखि यातायात व्यवस्था कार्यलयको सर्भर डाउन हुने समस्या जरैदेखि समाधान गरेको भन्दै बलायरले  यातायात क्षेत्रको विकासका लागि सातै प्रदेशमा प्रिन्टर राखेर स्मार्ट लाईसेन्स वितरण गरिने जानकारी दिए।

गाडी आयातमा लाग्दै आएको भन्सार शुल्क घटाउनुपर्ने नाडाका अध्यक्ष अन्जन श्रेष्ठको आग्रहमा मन्त्री बलायरले भने –‘भन्सार शुल्क मात्र होईन गाडी किन्न नै अनुदान दिन तयार छौं। तर उक्त गाडी कुन ठाउँमा कुन प्रयोजनका लागि प्रयोग हुने हो भन्ने कुरा मन्त्रालयमा चाहियो।’

‘कसैले गाडी नदेखेरै जीवन बिताएका छन्। कसैले आँगनमा भैंसी बाधे जसरी कामबिहीन बनाएर सवारी पार्किङ गरेका छन्। उद्देश्य अनुसार मात्रै भन्सार छुट दिन सकिन्छ’- मन्त्रीको भनाइ थियो।

निजी क्षेत्रलाई कटाक्ष गर्दै बलायरले भने- ‘तपाईहरु विकास निर्माणमा प्रयोग हुने हेभी ईक्विपमेन्ट बेच्नु हुन्छ। त्यसका लागि आवश्यक पर्ने कति जना चालक छन्? तिनीहरुको बीमा गरिएको छ कि छैन? निजी क्षेत्रको भूमिका यी विषयमा हुन्छ की हुँदैन?’

सडक कर वापत २० अर्ब रुपैयाँ उठाए पनि अर्थ मन्त्रालयले ४ अर्ब रुपैयाँ मात्र यातायात मन्त्रालयको लागि दिएको भन्दै बलायरले सडकको स्तरोन्नती गर्न भनेर दिएको पैसा सडक मर्मतमै खर्च हुनु पर्नेमा सरकारी खर्च चलाउने गरेकोमा दू:ख व्यक्त गरे।
कार्यक्रममा कलङ्की नागढुङ्गा सडकखण्डमा धेरै जाम हुने गरेकोले यो समस्या समाधानको लागि नाडाका अध्यक्ष श्रेष्ठले मन्त्री संग आग्रह गरेका थिए।

जवाफमा मन्त्री बलायरले भने, “कलङ्की नागढुङ्गा सडक खण्डमा सरकारी जमिनमा घर बनाएका छन्। उक्त घरको क्षतिपूर्ति सरकारले दिने भनेको छ। तै पनि अदालतले स्टे अर्डर दिन्छ। न्यायाधिशहरुलाई जाममा बस्न मन छ भने मैले के गर्नु? पत्रकारहरुलाई जाममा बस्न मन छ भने मैले के गर्ने?”

ट्रफिक जामले हैरान भएका उपत्यकामा मोटरसाईकल ट्याक्सी सञ्चालन गर्न आन्तरिक छलफल गरिरहेको पनि उनले जानकारी दिएका छन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शेखर गोल्छाले अटोमोवाईल क्षेत्रलाई सडक जाम, प्रदुषण, अनुत्पादक क्षेत्र भनेर बुझ्ने गरेको भन्दै यातायातले नै शहरको उत्पादन गाउँ र गाउँको उत्पादन शहरमा पुर्‍याईरहेकोतर्फ कसैले ध्यान नदिएको धारणा राखे।

कार्यवाहक अध्यक्ष गोल्छाले सडक र यातायात नै विकासको मेरुदण्ड भएको जिकिर गरे। गोल्छाले काठमाडौंको ट्राफिक जामको समस्यातर्फ इंकित गर्दै भने- ‘जाम भयो भनेर गाडी आयात नगर्ने कुरा हुँदैन। बाटोनै फराकिलो बनाउनु पर्छ।’

नेपाल चेम्बर अफ कमर्समा अध्यक्ष राजेशकाजी श्रेष्ठले उपत्यकामा बजार २४ घण्टानै खुल्ला राखेकोले यातायात पनि २४ घण्टा चलाउन मिल्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे। उक्त अवसरका नाडाले १० लाख रुपैयाँ नेपाल उद्योग वाणिज्य महासंघ मार्फत तराईका बाढीपीडितकालागि हस्तान्तरण गरेको छ।

प्रकाशित : १३ भाद्र २०७४, मंगलवार १५:३७