गभर्नरले भने – लघुवित्तको क्षमता वृद्धि गर्न संख्या घटाउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गभर्नरले भने – लघुवित्तको क्षमता वृद्धि गर्न संख्या घटाउ



काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थाहरुको क्षमता वृद्धि गर्न संख्या घटाउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले लघुवित्त संस्थाहरु धेरै भएकाले विकृती आउन थालेकोले अब यसको क्षमतामा वृद्धिका साथै संख्या कम गर्न मर्जर तथा एक्विजिसन गर्न निर्देशन आउने बताएका छन् ।

लघुवित्तका अभियन्ता तथा निर्घन उत्थान लघुवित्तका संस्थापक डा. हरिहरदेव पन्तको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले उक्त जानकारी दिएका हुन ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल विस्तारको क्रम जारी रहेकाले अहिले भएका लघुवित्तको संख्या घटाउनुपर्नेमा उनको जोड रहेको थियो ।

कार्यक्रममा बोल्दै गभर्नर डा. नेपालले गत वर्षसम्म ८० प्रतिशत भूगोलमा बैंकिङ पहुँच पुगेको जानकारी समेत गराए । उनले भने, ‘अब हाम्रो ध्यान देशका सबै भू–भागमा वित्तीय पहुँच पुर्याउने रहेको छ ।

लघुवित्त संस्थाले २०७५ असार मसान्तसम्ममा ६० करोड चुक्ता पूँजी पुर्याउनुपर्ने व्यवस्था राष्ट्र बैंकले यसअघि नै गरेको थियो । राष्ट्र बैंकले ०७४/७५ को बोनस शेयरलाई समेत गणना गर्न पाइने उल्लेख गरेको छ ।

हाल १० करोड रुपैयाँ चुक्ता पुँजी भए हुने व्यवस्थालाई ६ गुणाले बढाउँदै राष्ट्र बैंकले ६० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने व्यवस्था लागु गर्न भनेको थियो ।

२०७५ असारमसान्तभित्र पुँजी वृद्धि तोकिएअनुसार नगर्ने संस्थाको नगद सस्थालाई राष्ट्र बैंकले लाभांश तथा बोनश घोषणा लगायतका प्रवद्र्धनात्मक योजना ल्याउन रोक लगाउने चेतावनी दिइसकेको छ ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार देशभर ५३ वटा लघुवित्त कम्पनी सञ्चालनमा छन् । अहिले राष्ट्र बैंकले नयाँ लघुवित्त संस्थाको दर्तामा रोक लगाएको छ ।

प्रकाशित : २१ भाद्र २०७४, बुधबार १९:०२