दक्षिण कोरियाद्वारा ८० करोड अनुदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दक्षिण कोरियाद्वारा ८० करोड अनुदान



काठमाडौं ।

दक्षिण कोरियाले दिगो कृषि विकास तथा समुदायस्तरमा कृषि क्षमता अभिवृद्धि गरी ग्रामीण भेगका बासिन्दाको आय बढाउने समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न करिब रु ८० करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

नवलपरासी जिल्लामा कार्यान्वयन गरिने उक्त परियोजनाअन्तर्गत जिल्लाका कुडिया, भुजाहवा, सनाही, तम्सरिया, गुठिपरासनी गाविस र सुनवल नगरपालिकामा कार्यक्रम सञ्चालन हुनेछन् । परियोजना स्थानीय विकास मन्त्रालय र कोरियाली सहयोग नियोग (कोइका) ले कार्यान्वयन गर्नेछन् ।

अनुदान सहयोगसम्बन्धी समझदारी पत्रमा आज अर्थमन्त्रालयमा अर्थसचिव सुमनप्रसाद शर्मा र नेपालका लागि कोरियाका राजदूत चो योङ जिनले हस्ताक्षर गरेका हुन ।

त्यस अवसरमा राजदूत चोले भूकम्पपछिको पुनःनिर्माणमा कोरियाली सहायताको प्रतिबद्धता दोहो¥याउँदै दिगो कृषि विकास र आयआर्जनका कार्यक्रम कार्यान्वयन गर्न निरन्तर सहयोग गर्ने बताए ।

नेपालको आर्थिक उन्नयनको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रको विकासलाई कोरियाले महत्व दिएको बताउँदै सामाजिक एवम् आर्थिक चुनौती सामना गर्न पनि कृषि उद्यम फलदायी देखिएको उल्लेख गरे ।

सचिव शर्माले नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालको आर्थिक सामाजिक समृद्धिका लागि प्राप्त कोरियाली सहयोगप्रति आभार व्यक्त गरे ।

प्रकाशित : ८ श्रावण २०७२, शुक्रबार १६:२१