सम्पादकीयः सार्वजनिक यातायातमा चरम अराजकता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सम्पादकीयः सार्वजनिक यातायातमा चरम अराजकता



दशै अाउन अब केही दिन मात्रै बाँकी छ । कर्म थलो छाडेर जन्म थलोमा जानको लागी अाजभोली बसको टिकट लिन विभिन्न काउन्टरमा घुइँचो देखिन थालेको छ । काउन्टरमा दैनिक जसो लाग्ने घुइँचोको एउटै चिन्ता छ दशैमा घर जाने टिकट पाइएला कि नपाइएला ? बर्ष दिनको दुख भुलेर परिवारसंग बसेर सुख साट्दै दशै मान्ने  सर्वसाधारणको उत्साह माथी अन्याैल थपिदिएका छन यातायात व्यवसायीले ।
अन्य समयमा चुप बस्ने यातायाता व्यवसायी बर्षेनी दशै यता विभिन्न बहाना बनाएर नाैटंकी देखाउने गरेको छ । भाडा समायोजन हुनुपर्ने । -साविकका १४ वटै अञ्चलमा लामो दूरीका सवारी साधनको जाँचपास हुनुपर्ने । सवारी साधनको छतमा सामान बोक्न पाउनुपर्ने । सडकको मर्मत सम्भार गर्नुपर्ने । सडकमा उद्धार उपकरण (रेस्क्यु मेसिन) राख्नुपर्ने । लगाएतका माग राखेर दशैको मुखमा लाखाै यात्रुको मन अमिलो बनाउने सिबाय केही हुने गरेको छैन । बर्षेनी अाउने यस्ता यतायात व्यवसायीका माग प्रति न सरकारले चासो देखाएको छ । न त वेलैमा व्यवसायीले सचेत गराएका छन ।
दसैंको मुखमा सवारीसाधन कम गराउने र क्षमताभन्दा बढी यात्रु बोक्ने नियतवश यातायात व्यवसायीले सरकारलाई घुक्र्याउने काम गरेका छन् । अहिले पनि विगतमा गरेको बदमासी दोहो¥याउन नपाइएला कि भनेर आमयातायात व्यवसायी सरकारविरुद्ध एकजुट भएका छन् । यातायात व्यवसायीले देखाएको यस किसिमको दादागिरी कुनै पनि हालतमा जायज मान्न सकिँदैन ।
पछिल्लो समय सामाजिक जिम्मेवारी बहन गर्ने मामलामा सबैभन्दा बदनाम पात्रका रूपमा चिनिन थालेका छन् नेपालका यातायात व्यवसायी । समयमा सवारीसाधन मर्मत नगर्ने, सिट संख्याभन्दा धेरै यात्रु ओसार्ने र महँगो भाडा असुलउपर कार्यलाई नीति नै बनाएका छन् उनीहरूले । केही माग जायज देखिए पनि सवारीसाधनको सिट क्षमताभन्दा दोब्बर यात्रु बोक्न पाउनु पर्ने र छतमा समेत यात्रु राखेर लैजानु पर्ने माग राखेबाटै बुझिन्छ यातायात व्यवसायी कति भ्रष्ट छन् ।
दशैमा बिग्रेका सडक मर्मत नगरे गाडी चलाउदैनाै भन्ने व्यवसायीको तर्क आफैंमा हास्यास्पद छ । अन्य समयमा गाडी चलाउदा त्यही सडकमा अाखा चिम्लेर गाडी दाैडाउने अनि  दशैको बेलामा अाएर यो भएन त्यो भएन भन्नु यातायात व्यवसायीको बार्गेनिङको नयाँ चाल मात्रै हाे । सडक सञ्चालन गरिसकेपछि समयमा सडक मर्मत गर्ने दायित्व सरकार हो तर  व्यवसायी पनि यसमा त्यती कै जिम्मेवार बन्नुपर्छ  । दसैं नेपालीको सबैभन्दा ठूलो चाड हो भने हरेक वर्ष दसैंमा १५ लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिने गर्छन् । काठमाडौंबाहिर जाने र उपत्यका भित्रिने यात्रुलाई गन्तव्यमा पु¥याउने दायित्व व्यवसायीको हो । दसैंको मुखमा यातायात व्यवसायीले सरकारसँग जुन खालको बार्गेनिङ गरेका छन्, यसबाट बुझिन्छ उनीहरू सरकारलाई घुक्याएर खचाखच यात्रु बोक्न चाहन्छन् विगतका वर्षहरूमा जस्तै ।
बस व्यवसायीका पनि आफ्नै खालका दुःख होलान् । काठमाडौंलगायत मोफसलका सडक भत्केका छन् । यसको अर्थ यो होइन कि यातायात व्यवसायीको कुनै जिम्मेवारी नै हुँदैन । जनहितविरोधी माग राख्ने जुनसुकै संघसंस्थाको माग पनि सरकारले बेलैमा पूरा गरिदिनाले पनि यातायात व्यवसायीलाई अनावश्यक सर्त राख्न बल पुगेको छ । यस्तै समस्या फेरि पनि नआओस् भन्नका लागि सरकारले यातायात व्यवसायीविरुद्ध कठोर कदम चाल्नैपर्छ । कानुनको कुनचाँहि धाराअनुरूप सिटक्षमता भन्दा बढी यात्रु बोक्न पाउनुपर्ने हो ? व्यवसायीले त्यो धारा देखाउने हिम्मत गरुन ।

प्रकाशित : २३ भाद्र २०७४, शुक्रबार ११:२६