पोखरा फाइनान्सको एफपीओ बिहीबार बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पोखरा फाइनान्सको एफपीओ बिहीबार बाँडफाँट



काठमाडाै । पोखरा फाइनान्सको एफपीओ बिहीबार बाँडफाँट भएको छ । लगानीकर्ताले १० कित्तादेखि ३० कित्तासम्म सेयर हात पारेका छन् । सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर परेको छ । २० कित्ताका लागि आवेदन दिने पनि सबैले २० कित्ता नै सेयर पाएका छन् ।

यसैगरी, ३० कित्ता भन्दा बढी आवेदन दिएका २१ हजार ६०९ जना आवेदकमध्ये गोलाप्रथाबाट १९ हजार ९७० जनालाई ३० कित्ता नै सेयर परेको छ । २ जना लगानीकर्ताले भने २१ कित्ता सेयर पाएका छन् । बाँकी भएको २ कित्ता १–१ कित्ताका दरले थपेर दिंदा २ जनको भागमा २१ कित्ता सेयर परेको हो ।

कम्पनीले साउन २९ देखि भदौ १ गतेसम्म फेस भ्यालु १०० रुपैयाँमा १२० रुपैयाँ प्रिमियम भाउ थप गरी प्रतिकित्ता २२० रुपैयाका दरले ९ लाख ८३ हजार ६८१ कित्ता एफपीओ बिक्री खुला गरेको थियो ।

एफपीओमा ४६ हजार ६८३ जनाको आवेदन स्वीकृत भएको हो । यसमा कुल ७२ करोड ६० लाख रुपैयाँको आवेदन परेको थियो । कम्पनीले न्यूनतम १० देखि अधिकतम ४ हजार ९०० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा फाइनान्सको चुक्ता पुँजी ५५ करोड ७४ लाख २० हजार रुपैयाँ छ ।

एफपीओ बाँडफाँटपछि भने चुक्ता पुँजी ६५ करोड ५७ लाख ८८ हजार ४९२ रुपैयाँ पुग्नेछ । फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ८ करोड ७७ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५० पैसा छ ।

प्रकाशित : २९ भाद्र २०७४, बिहीबार १०:०६