राष्ट्र बैंकले जारी गर्यो ५ अर्बको रिर्भस रिपो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकले जारी गर्यो ५ अर्बको रिर्भस रिपो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ५ अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको हो । रिपोमा सहभागी हुन चाहने बैंकहरुले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले फेरि तरलता प्रशोचन (बैंकिङ प्रणालीमा धेरै भएको रकम खिच्न) ५ अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको हो ।

राष्ट्र बैंकले ७ दिनका लागि असोज ११ गते परिपक्व हुने गरी उक्त रिभर्स रिपो जारी गरेकोे हो । जसअनुसार बैंकहरुले असोज ११ गते सो रकम फिर्ता पाउनेछन् । यो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने छ । बोलकबोलमा परेको आवेदनबाट भारित औषतमा व्याजदर निर्धारण गरिने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जानकारी दिएको छ ।

अधिक तरलता न्यूनिकरण गर्न केन्द्रिय बैंकले मौद्रिक औजारको रुपमा रिभर्स रिपो जारी गर्ने गरेको छ । रिपोमा सहभागि संस्थाहरुले गरेको गोप्य बोलकबोलका आधारमा व्याजदर निर्धाण हुने छ ।

बैंकहरुसँग पर्याप्त तरलता हुँदा जथाभावी लगानी हुनसक्ने र निक्षेपकर्ताहरुले अत्यन्तै कम व्याज पाउने संभावना हुन्छ । जसले अर्थतन्त्रमा गंभीर समस्या उत्पन्न गर्छ । त्यसैले बजारमा पैसा बढी हुने बित्तीकै केन्द्रिय बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत पैसा उठाएर बजारलाई व्यवस्थित गर्ने नीति लिन्छ ।

राष्ट्र बैंकले बजारमा तरलताको अवस्था हेरेर रिपो वा रिभर्स रिपो जारी गर्ने गर्छ । बैंक वित्तीय संस्थामा लगानी गर्न रकम अभाव हुँदा रिपो जारी हुन्छ । त्यसको विपरीत रिभर्स रिपो जारी गरिन्छ । यी दुवै जारी हुँदा बैंक वित्तीय संस्थाले ट्रेजरी बिल्स लगायत उपकरण खरिद बिक्री गर्ने गर्छन् ।

राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा ७१ अर्ब रुपैयाँको हाराहारीमा तरलता छ ।

प्रकाशित : ४ आश्विन २०७४, बुधबार १२:०७