हाइड्रो एक्स्पो हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हाइड्रो एक्स्पो हुँदै



काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना गर्ने भएका छन् । राष्ट्रिय योजना आयोगले हिमालयन हाइड्रो एक्स्पो २०१८ लाई संरक्षकत्व प्रदान गर्नुका साथै नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसनस, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सको सक्रिय सहयोग रहेको छ ।

त्यस्तै नेपाल टनेलिङ एसोसिएसन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संघको पनि सहयोग रहेको एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्न लागेको हो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाईंले एक्स्पोमा टनेल खन्ने उपकरणसहित पछिल्ला टेक्नोलोजीको बारेमा जानकारी दिइने बताए । एक्स्पोमा विदेशी स्टलका लागि पत्राचार भइरहेको र धेरै भन्दा धेरै विदेशीहरु सहभागी हुनेमा आफू विश्वस्त रहेको बताए ।

एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले चीनभन्दा एक वर्ष पहिला हाइड्रोपावर शुरु गरेको नेपालले सय वर्षमा १ हजार मेगावाट विद्युत् उत्पादन गर्न नसकेको तर चीनले एउटै योजना २२ हजार ५ सय मेगावाटको बनाएको प्रसंग उल्लेख गर्दै नेपालले पनि आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताए ।
स्वतन्त्र ऊर्जा उत्पादक संघका उपाध्यक्ष कुमार पाण्डेले विदेशमा प्रयोगमा आइसकेको नयाँ प्रविधिबाट विद्युत् उत्पादन गरेमात्र सस्तो हुने बताए ।

आगामी पुस २१ गतेदेखि २३ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन हुने हिमालयन हाइड्रो एक्स्पो २०१८ मा तीन सयभन्दा बढी स्टल रहने छन् । जलविद्युत् प्रवद्र्धक, इक्वीपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युत्मा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ । ती स्टलमध्ये १ सय ५० भन्दा बढी विदेशी स्टल रहनेछन् ।

जलविद्युत् लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने आयोजकको दाबी छ । एक्स्पोमा इन्जिनियरिङ वेस भएका विद्यार्थीका बीचमा विभिन्न प्रतिस्पर्धा पनि गरिनुका साथै हाइड्रोपावरका विषयमा विभिन्न जानकारी दिने स्टल पनि राखिने बताइएको छ ।

प्रकाशित : ४ आश्विन २०७४, बुधबार १६:३४