सरकारले भ्याट बढाएपछि ट्याक्टर आयात घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सरकारले भ्याट बढाएपछि ट्याक्टर आयात घट्यो



काठमाडौं । भैरहवा भन्सार कार्यालयबाट ट्याक्टर आयात घटेको छ । कृषि प्रयोजनका लागि भन्दै आयात गरिने ट्याक्टरको दुरूपयोग बढ्दै गएपछि ट्याक्टरमा भ्याट लगाउने सरकारको निर्णयले आयात घटेको हो ।

साउन यता बेलहिया नाकाबाट ट्याक्टर आयात शुन्य जस्तै छ । भ्याटको विरोध गर्दै व्यवसायीले भन्सारमा आइसकेका ट्याक्टर पनि सम्बन्धित ठाउँमा प्रयोगका लागि लगेका छैनन् ।

भारतबाट ट्याक्टर आयात गर्दा सरकारले मुल्य अभिबृद्धी कर बापत १३ प्रतिशत कर लगाउने निर्णय गरेपछि रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट ट्याक्टर आयात घटेको छ ।

सरकारले साउन १ गतेदेखि लागु हुने गरी यो निर्णय सुरू गरेको थियो ।

बिगतमा ट्याक्टर आयात गर्दा भ्याट छुट थियो । खासगरी आयात कर्ताहरुले कृषि प्रयोजनका लागि भन्दै आयात गरे पनि त्यसको दुरुपयोग गरी अन्य क्षेत्रमा लगाएपछि सरकारले ट्याक्टरमा भ्याट लगाउने निर्णय गरेको हो ।

आयात कर्ताहरुले भ्याट छुट हुनु पर्ने माग गर्दै ट्याक्टर आयात नगरेको भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी एवं सहायक भन्सार प्रमुख गोपाल खत्री बताउँछन् ।

आर्थिक वर्ष सुरू भएपछि सरकारले १८ सय सिसि माथिका ट्याक्टरमा १३ प्रतिशत भ्याट लागू गरेको छ । कृषि प्रयोजनका लागि नेपाल भित्रिने ट्याक्टरलाई ९ देखि २२ लाख रूपैयाँ लाग्ने गर्दथ्यो ।

भ्याट लागूपछि यो मूल्य बढेर १२ देखि २५ लाखसम्म पुगेको छ । व्यापारीले भन्सार नतिर्दा एक महिनादेखि भन्सार कार्यालयमा सयौंको संख्यामा ट्याक्टर रोकिएका छन् ।

व्यवसायीहरूले भने २०७४÷०७५ को आर्थिक ऐनमा कृषि कार्यका लागि प्रयोग हुने सामानमा भ्याट छुटको व्यवस्था गरिएकाले आफूहरुले छुट पाउनु पर्ने माग गरेका छन् ।

भ्याट लाग्ने वित्तिकै कृषकहरुलाई प्रत्येक ट्याक्टर खरिद गर्दा २÷३ लाख बढी भार पर्ने हुँदा व्यसायीहरुले नीति खारेजीको माग गरेका छन् ।

तथ्यांक अनुसार गएको आर्थिक वर्षमा बेलहिया नाका हुँदै तीन हजार आठ सय २९ ट्याक्टर नेपाल भित्रिएका थिए ।

मासिक दुई सय बढी ट्याक्टर पासल हुने भन्सारबाट अहिले ५० ट्याक्टर पनि भन्सार पास भएका छैनन् ।

अहिले नेपालमा महिन्द्रा, सोनालिका, न्यू होल्यान्ड, स्वराज, आइसर कम्पनीका ट्याक्टरहरू बिक्री हुँदै आएका छन् ।

प्रकाशित : १३ आश्विन २०७४, शुक्रबार १७:२०