करार पत्रमै सिईओको तलब–भत्ता उल्लेख गर्नुपर्ने व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

करार पत्रमै सिईओको तलब–भत्ता उल्लेख गर्नुपर्ने व्यवस्था



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौं ।बैंक तथा वित्तीय संस्थाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सईओ) नियुक्त गर्दा अब करार पत्रमा तलब–भत्तासहितका सेवा सुविधा प्रष्ट रुपमा उल्लेख गर्नुपर्ने भएको छ । करार गर्दा प्रचलित कानुनी व्यवस्था वा विनियमावलीको व्यवस्था बमोजिम हुने भन्ने जस्ता द्विविधायुक्त र अनेकार्थी शब्द प्रयोग गरी सिईओको अपारदर्शी तलब–भत्ता प्रदान गर्ने गरिएकाले यस्तो व्यवस्था गरिएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबार नयाँ निर्देशन जारी गर्दै यस्तो व्यवस्था थप गरेको छ । यसअघि सिईओको तलब भत्ताजस्ता आर्थिक सेवा सुविधा करार पत्रमै उल्लेख गर्नुपर्ने व्यवस्था थिएन ।

निर्देशनमा सिईओको नियुक्तिसम्बन्धी व्यवस्था थप गर्दै यस्तो व्यवस्था गरिएको हो । केही बैंक तथा वित्तीय संस्थामा एकै व्यक्ति पटक पटक नियुक्त हुने र पाँच वर्षभन्दा बढी समय काम गरेपछि ग्रेड सुविधाको विवाद उत्पन्न भएपछि नयाँ व्यवस्था गर्नुपरेको राष्ट्र बैंकको भनाई छ ।

‘बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई नियुक्त गर्ने सिलसिलामा पारिश्रमिक र अन्य सुविधालगायतका विषयमा करार सम्झौता गर्दा सो सम्झौतामा सेवा सुविधासम्बन्धी सर्त किटानी गरी स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ, संस्थालाइृ वित्तीय भार पर्ने सेवा सुविधासम्बन्धी सर्तहरु उल्लेख गर्दा प्रचलित कानुनी व्यवस्था वा विनियमावलीको व्यवस्था बमोजिम हुने भनी द्विविधायुक्त र अनेकार्थी शब्द प्रयोग गरी करार सम्झौता गर्न पाइने छैन’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ।

यस्तै संस्थाकै कर्मचारीमध्येबाट सिईओ नियुक्त भएको अवस्थामा निजले खाईपाई आएको सेवा सुविधा पाउने भए सो समेत करारनामामा उल्लेख गर्नुपर्ने व्यवस्था थप गरिएको छ ।

प्रकाशित : १४ श्रावण २०७२, बिहीबार ०४:५३