अमेरिकामा परिवार नियोजनका साधनबारे नयाँ नीति, महिला अधिकारवादीको चर्को विरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अमेरिकामा परिवार नियोजनका साधनबारे नयाँ नीति, महिला अधिकारवादीको चर्को विरोध



काठमाडाै । अमेरिकामा ट्रम्प प्रशासनले परिवार नियोजनको नयाँ नीति घोषणा गरेको छ। यो नीितले ६ करोड अमेरिकी महिलालाई परिवार नियोजनका साधनमा पहुँच पाउनबाट वञ्चित पार्नसक्छ।

स्वास्थ्य मन्त्रालयले भनेको छ, रोजगारदाता अथवा बीमा कम्पनीहरुले अबउप्रान्त धार्मिक अथवा नैतिक धरातलका आधारमा महिलालाई गर्भनिरोधक चक्की वा परिवार नियोजनका अन्य साधन उपलब्ध नगराउन पाउनेछन्।

उनीहरुले स्वास्थ्य बीमामा धेरैको पहुँच पुर्‍याउने उद्देश्यका साथ पूर्व राष्ट्रपति बराक ओबामाले ल्याएको ‘अफोरडेबल केयर एक्ट’ भनिने ऐन अन्तर्गत त्यसो गर्नुपर्ने हुन्छ।
शुक्रवार घोषणा गरिएको उक्त कदम चुनावी अभियानका क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले जनाएको एउटा महत्त्वपूर्ण प्रतिबद्धताको कार्यान्वयन हो।

उक्त घोषणाको धार्मिक पुरातनपन्थीहरुले स्वागत गरेका छन् भने महिला अधिकारवादीहरुले आलोचना गरेका छन्।

‘अमेरिकन सिभिल लिबर्टिज युनियन’ले त्यसलाई अदालतमा कानून चुनौती दिइसकेको छ।

क्यालिफोर्निया राज्यका महान्यायाधिवक्ताले उक्त परिवर्तनविरुद्ध लड्नका निम्ति आवश्यक जेसुकै गर्न आफू तयार रहेको बताएका छन्।

ओबामाले ल्याएको ऐन अनुसार बीमा कम्पनीहरुले महिलालाई परिवार नियोजनका साधनहरु निःशुल्क उपलब्ध गराउन पाइरहेका थिए।

अमेरिकी स्वास्थ्य नीतिमा व्यापक फेरबदल ल्याउने प्रयासस्वरुप ओबामाले उक्त ऐन लागू गराएका थिए।

तर चुनावी अभियानका क्रममा ट्रम्पले त्यसको अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए।

शुक्रवारको घोषणापछि नाम उल्लेख नगर्ने शर्तमा स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, “संस्थाहरुले धार्मिक आस्थाको अनुशरण गर्ने र धार्मिक आस्थाकै आधारमा विभेदको सामना गर्न नपर्ने अवस्था हुनुपर्छ।”

अमेरिकी तल्लो सदनका सभामुख पल रायनले उक्त निर्णय ‘धार्मिक स्वतन्त्रताको दिशामा एउटा महत्त्वपूर्ण कदम’ भएको प्रतिक्रिया दिएका छन्।

बिबिसीबाट

प्रकाशित : २२ आश्विन २०७४, आईतवार ०८:२३