धितोपत्रमा लगानी गर्दा ध्यान दिनुपर्ने कुरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

धितोपत्रमा लगानी गर्दा ध्यान दिनुपर्ने कुरा



सबै व्यक्तिमा वित्तीय रूपमा सुरिक्षत हुने चाहना हुन्छ । अवकाशपछिको जीवनमा पनि वित्तीय सुरक्षा हुने/नहुने भन्ने सोचले नै धेरै मानिसहरू पिरोलिने गरेका हुन्छन् । अवकाशपछि सहज जीवन बिताउने हो भने निश्चय नै आफूले गरेको बचतलाई सही क्षेत्रमा लगानी गर्नुपर्छ । धितोपत्रमा बुद्धिमत्तापूर्वक लगानी गर्ने हो भने यसले अवकाशपछिको जीवनलाई चिन्तामुक्त गराउन सक्छ । तर, धितोपत्रमा लगानी कसरी गर्ने त ?

१) बचत गर्ने बानी बसाल्नुहोस्
कुनै पनि क्षेत्रमा लगानी गर्ने हो भने त्यसका लागि सर्वप्रथम पूँजीको आवश्यकता पर्छ । त्यसैले, कुनै बलियो नियमित आम्दानीको स्रोत नहुँदासम्म वा ६ देखि १२ महीनासम्म दैनिक जीवन चलाउन चाहिने रकम आफ्नो बचत खातामा नहुँदासम्म लगानी गर्न थाल्नुहुँनैन । यदि, जागीर छुट्यो वा नियमित आम्दानीको बाटो टुट्यो भने यही रकमले जीवन धान्नुपर्छ । आफ्नो आयमध्ये कति जोगाउने, कहाँ कति खर्च गर्ने भनेर बजेट निर्माण गर्नुहोस् । यदि, धितोपत्रमा लगानी गरिसकेको अवस्था छ र त्यसबाट मुनाफा पनि आइरहेको छ भने सबै मुनाफा रकम पुनः लगानी गर्नुहुँदैन । यस्तो मुनाफाको केही अंश बचत गर्नुपर्छ ।

२) अध्ययन गर्नुहोस्
लगानी गर्नुअघि धितोपत्र भनेको के हो, यसमा कसरी लगानी गरिन्छ, धितोपत्रको मूल्याङ्कन कसरी गर्ने आदि कुराको बारेमा अध्ययन गर्नुपर्छ । धितोपत्रमा लगानी गर्न सहयोगी हुने विभिन्न पुस्तक अध्ययन गर्नुपर्छ । लगानी गर्ने तरीका र मनोविज्ञानसम्बन्धी (यो बजार मनोविज्ञानले निर्देशित हुने भएकाले ) पुस्तकहरू अध्ययन गर्नुपर्छ ।

                                                   विश्वमा अहिले कागजबिहीन सेयर कारोबारको बिकास भैरहेको छ । यो प्रक्रियाले सेयरको कारोबार गर्न छिटो छरितोरुपमा गर्न सघाउँछ ।सेयरको अभौतिकिकरणले हराउने, च्यातीने, बिग्रने जस्ता समस्याबाट मुक्ति पाइन्छ ।

३) सोच्नुहोस्
लगानी गर्नुअघि सधैं सोच्नुहोस् । के गर्दा ठीक हुन्छ, त्यसबारे निष्कर्ष निकाल्नुहोस् । जबसम्म आफूले कुनै धितोपत्र किन किन्ने भन्ने स्पष्ट कारणहरू पाउनुहुन्न, तबसम्म त्यो धितोपत्र किन्नु उपयुक्त हुँदैन ।

४) नियमित रूपमा र अनुशासित भएर लगानी गर्नुहोस्
शेयरमूल्य घटेको समयमा किन्ने र बढेको समयमा बेच्ने गर्नुपर्छ । मासिक आम्दानीको केही हिस्सा शेयर किन्न प्रयोग गर्नुहोस् । यदि, सन्तुलित किसिमको बजार छ र सो बजार २० प्रतिशत तल झर्‍यो भने लगानी बढाउनु ठीक हुन्छ । बजार थप घट्दै ५० प्रतिशतभन्दा मुनि पुग्यो भने अन्य क्षेत्रमा गरिएको लगानीमध्ये केही झिकेर यो बजारमा लगाउन हुन्छ भन्ने अन्तरराष्ट्रिय मान्यता छ । किनभने, शेयर बजारमा घटबढ हुनु नियमित प्रक्रिया हो र बजार घटेको छ भने अवश्य बढ्छ र बढेको बजार अवश्य घट्छ पनि ।

५) सीमा निर्धारण गर्नुहोस्
धितोपत्र बजारलाई लोभ र डरको बजार भनिन्छ । लगानीका क्रममा लोभ, लाभ र डर दुवैको सीमा निर्धारण नगर्ने हो भने यो बजारमा जे पनि हुन सक्छ । यसरी निर्धारित लाभको अधिकतम सीमा नपुगुञ्जेलसम्म राम्रा कम्पनीका शेयरहरू होल्ड गर्न सकिन्छ । यस्ता कम्पनीका शेयरलाई ‘विनर’को संज्ञा दिँदै वारेन बफेट भन्छन् – ‘विनरहरूलाई सधैंका लागि होल्ड गर्नुहोस् । तर, शेयरमूल्य निकै बढ्यो भने विनरहरूलाई पनि विक्री गर्नेतर्फ सोच बनाउनुपर्छ ।’

६) अभ्यास गर्नुहोस्
पैसा लगाएर धितोपत्रको व्यापार गर्नुभन्दा पहिले यसको कागजी अभ्यास गर्नुहोस् । यस्तो अभ्यास गर्दा केही कम्पनीको केही शेयर कुनै खास मूल्यमा किनेको मान्नुहोस् र त्यो खरीदलाई आफ्नो खाता रेकर्ड (अभिलेख) गरेर राख्नुहोस् । त्यसपछि ती शेयर खरीद÷विक्री गर्ने निर्णय गरेअनुसार सबैको अभिलेख राख्नुहोस् । अभिलेख गर्दा व्यापार गरेको मिति, शेयर सङ्ख्या, शेयरमूल्य, नाफा वा नोक्सान, कमिशन, लाभांशमा लाग्ने कर, पूँजीगत लाभकर र व्यापार शुल्क पनि टिपोट गर्नुहोस् । यसो गर्दा तपाईंलाई शेयर किन्ने वा बेच्ने निर्णय लिन सजिलो हुन्छ । अनि खुद नाफा वा नोक्सान के भइरहेको छ गणना गर्नुहोस् । आफूले निकालेको नाफालाई बजार परिसूचक (नेप्से)सँग पनि तुलना गर्नुहोस् । तपार्इंको नाफा बजार परिसूचकभन्दा बढी भइरहेको छ भने तपार्इंको सही निर्णय गर्ने क्षमता भएको पुष्टि हुन्छ । यसरी जबसम्म आफूलाई बजारमा व्यापार गर्न सहज हुँदैन, तबसम्म व्यापार नगर्नुहोस् ।

७) शेयर ब्रोकरकहाँ खाता खोल्नुहोस्
ब्रोकर कम्पनीहरूमार्फत मात्र शेयर बजारमा कारोबार गर्न पाइन्छ । त्यसैले, ती कम्पनीहरूमा आफ्नो खाता खोल्नुपर्छ । अहिले हाम्रो बजारमा ४९ ओटा ब्रोकर कम्पनी सञ्चालनमा छन् । जहिले पनि आफू अनुकूल, सहयोगी र सबै ग्राहकलाई समान व्यवहार गर्ने खालको ब्रोकर छनोट गर्नुपर्छ ।

८) २ देखि ५ शेयरहरूको सानो पोर्टफोलियो निर्माण गर्नुहोस्
राम्रो प्रतिफल दिने कम्पनीका शेयरलाई ब्लू चिप भनिन्छ । यस्ता कम्पनीका शेयरहरू अन्यको तुलनामा गुणस्तरीय, सुरक्षित र नाफामूलक हुन्छन् । राम्रा कम्पनी ती हुन्, जसको उत्पादन क्षमता राम्रो हुन्छ वा कार्य सञ्चालन राम्रो हुन्छ र जो बजारमा अग्रणी कम्पनीका रूपमा चिनिन्छन् । यस्ता कम्पनीहरूको शेयरमूल्य पनि उच्च हुन्छ । यस्ता कम्पनीहरूको शेयर कम मूल्यमा पाउन सकिँदैन । बियरिश बजारको अवस्थामा भने यस्ता कम्पनीको मूल्य केही कम हुन सक्छ । तैपनि अन्यको तुलनामा यी शेयर त्यस्तो बेला पनि धेरै महँगा नै हुन्छन् । त्यस्ता कम्पनीहरूले विगत ५÷६ वर्षदेखि नै नाफा कमाइरहेका हुन्छन् । तिनीहरूको आम्दानीमा पनि वृद्धि भइरहेको हुन्छ र तिनले नियमित लाभांश पनि वितरण गरिरहेका हुन्छन् । ती कम्पनीहरूको प्रतिशेयर आम्दानी पनि वृद्धि भइरहेको हुन्छ । त्यसैले, यस्ता केही कम्पनीहरूको शेयरमा पनि लगानी गर्नुहोस् । यसले जोखिम कम गर्न सजिलो त हुन्छ नै ।

९) दीर्घकालीन रूपमा लगानी गर्नुहोस्
बजार नकारात्मक देखियो (एक दिन, १ महीना वा १ वर्षभरिसमेत) भन्दैमा बेचिहाल्ने गर्नुहुँदैन । यदि, शेयर ५० प्रतिशत, १ सय प्रतिशत, २ सय प्रतिशत वा सोभन्दा पनि बढी प्रतिशतले बढिरहेको छ भने पनि तबसम्म नाफा लिन नहतारिनुहोस्, जबसम्म अन्य आधारभूत कुराहरू ठीक अवस्थामा हुन्छन् । र, त्यसरी मूल्य बढ्नु उचित नै देखिन्छ । यदि, तपाईंसँग भएको पूँजी दीर्घकालीन लगानी अवधिसम्म अन्यत्र प्रयोग गर्न आवश्यक छैन भने मात्र शेयर बजारमा लगानी गर्नुहोस् । तर, यदि शेयरको मूल्य अधिक मूल्याङ्कन भएको छ वा कम्पनीका आधारभूत पक्षहरू नकारात्मक देखिन थालेका छन् भनेचाहिँ शेयर बेचिहाल्नु बुद्धिमानी हुन्छ ।

१०) डिम्याट खाता  अनिवार्य  खोल्ने

डिम्याट भनेको भौतिकरुपमा भएका सेयर प्रमाणपत्रलाई अभौतिक (इलेक्ट्रोनिकीकरण) गर्ने प्रक्रिया हो । विश्वमा अहिले कागजबिहीन सेयर कारोबारको बिकास भैरहेको छ । यो प्रक्रियाले सेयरको कारोबार गर्न छिटो छरितोरुपमा गर्न सघाउँछ ।

सेयरको अभौतिकिकरणले हराउने, च्यातीने, बिग्रने जस्ता समस्याबाट मुक्ति पाइन्छ । सेयरको डिम्याट गर्नका लागि केन्द्रिय निक्षेप सेवा (सिडिएसी) बाट सदस्यता लिएको निक्षेप सदस्य (डिपोजीटरी पार्टिसिपेन्ट) मार्फत खाता खोली भौतिकरुपमा रहेको सेयरलाई विद्युतीयकरण गर्न सकिन्छ ।

खाता कहाँ कहाँ खोल्न पाइन्छ ?

डिपी (डिपोजिटरिङ पार्टीसपेन्ट) वा निक्षेप सदस्यता लाइसेन्स लिएका मर्चेन्ट बैंकर, ब्रोकर कम्पनी, बैंक वित्तीय संस्थाले खाता खोलिदिन्छन् । ब्रोकर कम्पनीहरुले खाता खोल्न पाउने भएपनि त्यसका लागि बोर्डमा आवेदन दिनुपर्छ र आवश्यक प्रक्रिया पुरा गर्नुपर्दछ । खाता खोल्न पहिला एक सय ५० रुपैयाँ लाग्छ । त्यसपछि वार्षिक सय रुपैयाँ तिरेर नविकरण गर्नुपर्छ । तत्कालका डिम्याट खाता खोल्न अनलाइनबाट मिल्दैन । तर, छिट्टै अनलाइनबाट खाता खोल्ने सिस्टम पनि आउने तयारी छ ।

प्रकाशित : १३ श्रावण २०७४, शुक्रबार १२:१२